कर्णाली प्रदेशका विभिन्न जिल्लामा विविध कार्यक्रम गर्दै मङ्सिर २४ गते ७१ औँ अन्तर्राष्ट्रिय मानव अधिकार दिवस मनाइएको जिल्ला प्रतिनिधिहरूले जनाउनुभएको छ ।
सुर्खेत जिल्ला प्रतिनिधि दुर्गा थापाका अनुसार मानव अधिकार दिवसका अवसरमा ‘मानव अधिकारको संरक्षणमा युवाहरूको भुमिका’ विषयक छलफल कार्यक्रम वीरेन्द्रनगरमा सम्पन्न गरिएको छ ।
अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक), सुर्खेत लगायत विभिन्न सङ्घसंस्थाको आयोजनामा सम्पन्न कार्यक्रममा बोल्दै सुर्खेतका प्रमुख जिल्ला अधिकारी बसन्त अधिकारीले सुर्खेत जिल्लामा गम्भीर प्रकृतिका मानव अधिकार उल्लङ्घनका घटना नभएको बताउँदै घटना न्यूनीकरणका लागि प्रशासन चनाखो रहेको बताउनुभयो ।
वीरेन्द्रनगर नपा–६ का अध्यक्ष मोतीप्रसाद कँडेलले सबैले कानुनको पालना गरेमा मानव अधिकारको संरक्षण हुने बताउनुभयो ।
द्वन्द्वपीडित साझा चौतारीकी कर्णाली प्रदेश अध्यक्ष शितलासिंह राठौरले द्वन्द्वपीडितको अवस्था र विषय आवश्यकता हेरेर पीडित परिवारका लागि स्थानीय, प्रदेश र केन्द्रीय सरकारले बजेट छुट्याएमा द्वन्द्वपीडित परिवारले पनि मानव अधिकारको महसुस गर्न पाउने बताउनुभयो ।
राष्ट्रिय अपाङ्ग महासङ्घका सुरेशकुमार खड्काले मानिसले जन्मसिद्ध पाउने अधिकारको उपभोग गर्नबाट अपाङ्गता भएका व्यक्तिहरू अझै वञ्चित भएको बताउनुभयो ।
सञ्चारकर्मी यज्ञ खत्रीले मानव अधिकारको उल्लङ्घन गर्ने र रक्षा गर्ने पनि युवा नै भएका कारण सरकारले गरेका अन्तर्राष्ट्रिय सन्धिसम्झौता कार्यान्वयनको अवस्थाका बारेमा युवाहरू जानकार हुनुपर्ने बताउनुभयो ।
छलफल कार्यक्रममा नागरिक सरोकार केन्द्र, सुर्खेतका अध्यक्ष पिताम्बर ढकालले मानव अधिकारको विश्वव्यापी घोषणापत्रका बारेमा कार्यपत्र प्रस्तुत गर्नुभएको थियो ।
दिवसकै अवसरमा मङ्सिर २४ गते बिहान मङ्गलगढीचोकबाट पिपलचौतारासम्म प्रभातफेरीको आयोजना गरिएको थियो ।







जाजरकोट जिल्ला प्रतिनिधि दिनेशकुमार श्रेष्ठका अनुसार ७१ औँ अन्तर्राष्ट्रिय मानव अधिकार दिवसका अवसरमा जाजरकोट कारागारमा रहेका कैदीबन्दीलाई फलफुल वितरण गरिएको छ ।
अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक), नेपाल मानव अधिकार सङ्गठन र एम्नेस्टी इन्टरनेशनल जाजरकोटको संयुक्त आयोजनामा आयोजित कार्यक्रमबीच कर्णाली प्रदेशका सांसद कृष्णा शाहले जिल्ला कारागारका कैदीबन्दीका लागि फलफुल वितरण गर्नुभएको हो ।
कार्यक्रममा बोल्दै सांसद शाहले मानिसले स्वतन्त्र र भयरहित वातावरणमा जीवन जिउन पाउनुपर्ने बताउँदै समाज रूपान्तरण तथा समाज परिवर्तनमा लाग्न मानिस स्वतन्त्र रहेको बताउनु भयो ।
विभिन्न कारणले कारागारमा रहेका कैदीबन्दीले कारागारलाई सुधार गृहको रूपमा लिएर कारागार बसाईबाट समेत ठुलो सीप सिकेर आत्मनिर्भर बन्न कैदीबन्दीलाई आग्रह गर्नुभयो ।


सल्यान जिल्ला प्रतिनिधि मिना बुढाथोकीका अनुसार मानव अधिकार दिवसका अवसरमा सदरमुकाम खलङ्गामा एक कार्यक्रम सम्पन्न भएको छ ।
अन्तर्राष्ट्रिय मान वअधिकार दिवस तथा लैङ्गिक हिंसा विरूद्धको १६ दिने अभियान समापनको अवसरमा आयोजित कार्यक्रमका सहभागीहरूले सबै खाले हिंसा न्युनीकरण गर्दै समानताको समाज निर्माण गर्नुपर्नेमा जोड दिएका थिए ।
कार्यक्रममा शारदा नगरपालिकाका प्रमुख सुरेश अधिकारीले नगरपालिकालाई सबैखाले हिंसामुक्त बनाउन सबै नगरबासीले हातेमालो गर्नुपर्ने बताउनुभयो ।
लैङ्गिक हिंसालाई कम गर्न स्थानीय स्तरमा लुकेर बसेका घटनाहरूलाई उजागर गर्दै दोषीलाई कानुनी दायरामा ल्याउनु पर्नेमा उहाँको जोड थियो ।
शारदा नपा–२ का वडा अध्यक्ष केशवसिंह श्रेष्ठले लैङ्गिक हिंसाबाट निम्तिने घटनाबारे अधिकारकर्मी र स्थानीय सरकारले सबैलाई सचेत बनाउनु पर्ने बताउनुभयो ।
श्रेष्ठले वडा भित्र पीडित अवस्थामा रहेकाहरूको पक्षमा स्थानीय तह सधैँ रहेको बताउनुभयो । हिंसा प्रभावित महिला वा बालबालिकाको लागि औषधि उपचार तथा कानुनी सेवा निःशुल्क रूपमा प्रदान गरिने वडाध्यक्ष श्रेष्ठको भनाइ थियो ।
अधिकारकर्मी विष्णु शर्माले पहिलेको तुलनामा अहिले महिलाहरूमा चेतनाको स्तर फराकिलो भएको बताउँदै आप्mनो अधिकारका सवालमा केहीले आवाज उठाएपनि अझैपनि महिलाहरूले हिंसा भोग्नु परेको बताउनुभयो ।
नेपाल पत्रकार महासङ्घ, सल्यानका पुर्व अध्यक्ष सनत शर्माले लैङ्गिक हिंसाबाट पुरूषहरू पनि पीडित भएको बताउनुभयो ।
शारदा नगरपालिकाको आयोजना तथा इन्सेक सल्यान, रेस सल्यान, हरप्लेस सल्यानको समन्वयमा सम्पन्न कार्यक्रममा स्थानीय महिला, पत्रकार, जनप्रतिनिधिलगायतको सहभागिता रहेको थियो ।
दैलेख जिल्ला प्रतिनिधि अमर सुनारका अनुसार मानव अधिकार दिवसका अवसरमा दैलेखमा प्रभातफेरी कार्यक्रमको आयोजना गरिएको छ ।
नारायण नगरपालिकाको आयोजना तथा इन्सेक लगायतका नागरिक सङ्घ संस्थाहरूको समन्वयमा सदरमुकामको गणेशचौरदेखि सुरू भएको प्रभातफेरी नयाँबजार, टुडिखेल हुँदै पुरानोबजारपछि देवकोटाचौरमा पुगी कोणसभामा परिणत भएको थियो ।
कोणसभामा बोल्दै नारायण नगरपालिकाका उपमेयर सावित्री मल्लले सामाजिक कुरीतिले मानव अधिकारको प्रत्याभूतिमा समस्या पैदा गरेको बताउनुभयो ।
महिला अधिकार हनन्का घटना समाजमा बढी हुने गरेको बताउँदै उपमेयर मल्लले बलात्कार, बहुविवाह तथा बालविवाह जस्ता घटना र छाउपडी, जातीय विभेद जस्ता सामाजिक कुरीतिलाई हटाउनका लागि साझा पहल आवश्यक रहेको टिप्पणी गर्नुभयो ।