रुकुम पश्चिमका स्थानीय तथा सरकारी निकायका सरोकारवालाहरूले सुशासन कायम गर्नका लागि प्रतिबद्धता रहेको जनाएका छन् ।
भ्रष्टाचार विरूद्धको अन्तर्राष्ट्रिय दिवसको अवसरमा मङ्सिर २३ गते सदरमुकाम मुसिकोटमा आयोजित कार्यक्रममा बोल्दै सरोकारवालाहरूले आफूले पनि भ्रष्टाचार नगर्ने, अरूलाई पनि गर्न नदिने र गरेको देखेमा नसहने प्रतिबद्धता जनाएका हुन् ।
‘भ्रष्टाचारलाई नाईँ भनौँ, हरेक नाईँको मूल्य हुन्छ’ भन्ने मूल नाराका साथ सदरमुकाम मुसिकोट खलङ्गास्थित कालिका मन्दिरबाट सुरू भएको प्रभातफेरी बजार परिक्रमा गरी सोही ठाउँमा कोणसभामा परिणत भएको थियो ।
कोणसभामा बोल्दै रुकुम पश्चिमका प्रमुख जिल्ला अधिकारी उपेन्द्रराज पौड्यालले भ्रष्टाचारले समाजको विकासमा अवरोध गर्ने भन्दै यसको निवारणका लागि सबैले हातेमालो गर्नुपर्ने बताउनुभयो ।
‘भ्रष्टाचार न्यूनीकरण गर्न प्रशासन एक्लैले सक्दैन ।’–प्रमुख जिल्ला अधिकारी पौड्यालले भन्नुभयो–‘सचेत नागरिकको तर्फबाट सबैले खबरदारी गर्ने र प्रशासनलाई सहयोग गरेमा धेरै हदसम्म भ्रष्टाचार कम गर्न सकिन्छ ।’
गैरसरकारी महासङ्घ, रुकुम पश्चिमका अध्यक्ष नारायणकुमार शाहले भ्रष्टाचार मान्छेको मनबाटै हुने भएकाले हरेक व्यक्तिले मन सफा राख्नुपर्ने बताउनुभयो ।
नेपाल बार एशोसियशन रुकुम पश्चिमका अध्यक्ष एक्कबहादुर पाण्डेले भ्रष्टाचार न्यूनीकरणका लागि स्थानीय सरकारहरू नै जागरूक हुनुपर्ने बताउनुभयो ।
कार्यक्रम अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक), हरप्लेस, जिल्ला बार एकाई, नेपाल पत्रकार महासङ्घ, गैरसरकारी संस्था महासङ्घ लगायतको आयोजनामा सम्पन्न गरिएको हो ।




