INSEC Online

📅 २०८३ जेष्ठ २१

खुल्ला चौरमा विद्यार्थी, कक्षाकोठामा गाइगोरू !

बनगाड कुपिण्डे नगरपालिका–६ अम्रामा रहेको गंगा प्राथमिक विद्यालयमा कक्षा पाँचसम्म पढ्ने ११ जनामात्रै विद्यार्थी भएपछि पठनपाठन प्रभावित भएको छ ।

कक्षा पाँचसम्म सञ्चालनमा रहेको यस विद्यालयमा कक्षा एक मा दुई जना, कक्षा दुईमा दुई जना, कक्षा तीनमा दुई जना, कक्षा चारमा चार जना र कक्षा पाँच मा एक जना विद्यार्थी अध्यनरत रहेको शिक्षिका चम्पा केसीले बताउनुभयो ।

केही वर्ष अघिसम्म यो विद्यालयमा १ सय जनाभन्दा बढी विद्यार्थीले अध्ययन गर्ने गरेको भएपनि अहिले घटेर एक दर्जन भन्दा कम भएको उहाँले बताउनुभयो ।

विद्यार्थी कम भएको बहानामा शिक्षक पनि विद्यालयमा कम मात्रै आउने गरेका छन् । चार जना शिक्षक कार्यरत विद्यालयमा शिक्षकहरू अनियमित हुन थालेपछि उपस्थित शिक्षकले विद्यार्थीलाई चौरमा एकैठाउँमा राखेर पढाउने गरेको देखिन्छ ।

स्थानीयबासिन्दाले भने विद्यार्थी कम भएको बहाना बनाएर शिक्षक विद्यालय नजाने गरेको आरोप लगाएका छन् ।

अन्य शिक्षकहरू अनुपस्थित भएपछि चौरमा एकठाउँमा विद्यार्थी राखेर पढाइरहनुभएकाी शिक्षिका चम्पा केसीले भने शिक्षकहरू काम विशेषले विद्यालय नआएको बताउनुभयो ।

‘हरेक कक्षामा एक-दुई जनामात्रै विद्यार्थी छन् ।’–उहाँले भन्नुभयो–‘त्यही भएर चौरमा एकै ठाउँमा राखेर पढाएकी हुँ । शिक्षक नभएर होइन ।’

शिक्षकले सबै विद्यार्थीलाई चौरमै पढाउन थालेपछि कक्षाकोठामा भने गाईगोरू बस्न थालेका छन् । सबै विद्यार्थीलाई एकै ठाउँमा राखेर एकै शिक्षकले पढाउँदा विद्यार्थीको पढाइ समेत बिग्रिएको अभिभावकहरूको गुनासो छ ।

१२ वर्षमा १ सय विद्यार्थी गायव, विद्यार्थी घट्नुमा बोर्डिङ्गलाइ दोष
२०६४ सालको तथ्याङ्क हेर्दा विद्यालयमा १ सय ७ जना विद्यार्थी रहेका थिए । तर, अहिले १२ वर्षपछि विद्यालयमा झण्डै १ सय विद्यार्थी गायव भएका छन् ।

विद्यालयमा विद्यार्थीहरू लगातार घटेपनि विद्यालयले भने कुनै चासो दिएको छैन । विद्यालयमा सरकारले करोडौँ लगानी गरेर निर्माण गरेका भौतिक संरचनाहरू विद्यार्थी नभएकै कारण प्रयोगविहीन हुन थालेका छन् ।

विद्यालयले भने निजी विद्यालयका आकर्षक योजनाका कारण सरकारी विद्यालयमा विद्यार्थी घटेर निजी विद्यालयतर्फ गएको दावी गरेको छ ।

‘निजी विद्यालयले स्कुल बसबाट विद्यार्थी ल्याउने र लैजाने भएपछि सरकारी विद्यालयमा विद्यार्थी नआएका हुन् ।’–शिक्षिका चम्पा केसीले भन्नुभयो ।

विद्यालयमा पठनपाठन गतिलो नभएपछि आफूहरू बाध्य भएर अन्य विद्यालय रोजेको अभिभावकको भनाइ छ ।

नगरपालिकाले भने दरबन्दी मिलान र विद्यालय मर्ज गर्ने तयारीमा रहेको जनाएको छ । नरपालिका अन्तर्गतको शिक्षा शाखाका प्रमुख चक्रबहादुर रावतले यस्ता प्रकृतिका विद्यालय अरू पनि भएकाले दरबन्दी मिलान र विद्यालय मर्जको नीति अघि सारेको बताउनुभयो ।

‘हामीहरू विद्यार्थी सङ्ख्याका आधारमा शिक्षक सङ्ख्या र विद्यालय एकीन गरी समाधानको बाटोमा लागेका छौँ ।’–उहाँले भन्नुभयो–‘सहमति भएमा हामीले चाँडै यस्ता समस्या समाधान गर्नेछौँ ।’

photo20191208salyan (1)

photo20191208salyan (2)

photo20191208salyan (3)

photo20191208salyan (4)

photo20191208salyan (5)

photo20191208salyan (6)

photo20191208salyan (7)

photo20191208salyan (8)

अन्य

भिडियो