नेपालगञ्जस्थित रेडहिल एकेडेमी स्कुलको कक्षा २ मा अध्ययनरत आठ वर्षीय प्रतिक रस्तोगीलाई विज्ञान शिक्षक २३ वर्षीय मनोज केसीले गृहकार्य नगरेको आरोपमा कुटपिट गरेको भन्दै पीडित पक्षले राष्ट्रिय मानव अधिकार आयोग नेपालञ्जमा मङ्सिर १७ गते उजुरी दिएको छ ।
पीडित पक्षले घटनाको अनुसन्धान गरी कारबाहीका लागि पहल गरिदिन माग गदै मङ्सिर १८ गते इन्सेक नेपालगन्जमा पनि निवेदन दिएको छ ।
पीडित बालकलाई मङ्सिर १३ गते शिक्षकले कुटपिट गरेको र घटनाका विषयमा बुझ्न पुगेकी बालककी फुपू कन्चन श्रेष्ठ रस्तोगीलाई ३८ वर्षीय प्रिन्सिपल दिपक गुप्ताले अपशब्द प्रयोग गरी बच्चालाई स्कुलबाट तत्काल लैजान भनेर धम्क्याएको बालककी फुपूले बताउनुभयो ।
विद्यालयका प्रिन्सिपल गुप्ताले बालकलाई यातना दिने हिसावले कुटपिट नगरेको बताउनुभयो । अभिभावकले विद्यालयमा आएर शिक्षकलाई समेत अनावश्यक गाली गरेको उहाँको आरोप छ ।
पीडित बालक प्रतिकले भने शिक्षकले गृहकार्य नगरेको भनेर कुटपीट गरेको बताउनुभयो ।