तराई क्षेत्रमा दाइजो प्रथाले आफ्नो जरा क्यान्सर झैँ फिजाइरहेको बेलामा जनकपुरधाम उमनपा–१३ स्थित रामजानकी विवाह मण्डप (मणि मण्डप) मा १ सय ८ जोडीको सामूहिक विवाह गरिएको छ ।
विश्व हिन्दु परिषद्को अगुवाइमा दाइजो प्रथाविरूद्ध मङ्सिर १६ गते सामूहिक रूपमा आदर्श विवाहको आयोजना गरिएको हो ।
मङ्सिर ६ गते राति ११ बजे दाइजोमा दिइएको मोटरसाइकलको नामसारी नगरेको भन्दै मिथिलाविहारी नपा–३ निवासी प्रकाश मण्डलले २२ वर्षीय श्रीमती कुसुमकुमारी मण्डललाई कुटपिट गरी हत्या गरेको आरोप छ ।
सप्तरी जिल्ला बोदे बर्साइन् नपा–४ पर्साहीकी १९ वर्षीया अम्बिकाकुमारी साहलाई ०७६ वैशाख २६ गते ३१ वर्षीय पति रामचन्द्र साह र २३ वर्षीय देवर रामप्रसाद साहले असोज १९ गते पासोमा झुण्ड्याई हत्या गरेको आरोप छ । दाइजोमा थप ४ लाख रुपियाँ नदिएको भन्दै अम्बिकाको हत्या भएको थियो ।
दाइजोलाई निरुत्साहन गर्नका लागि चन्दा उठाएर विश्व हिन्दु परिषद्ले सामूहिक विवाहको आयोजना गरेको जानकारी परिषद्का राष्ट्रिय उपाध्यक्ष कासिन्द्र यादवले बताउनु भएको छ ।
हिन्दु परिषद्ले गरेको आह्वानमा बेहुलाबेहुली पक्षले विवाहको लागि फर्म भरेका थिए । कानुन अनुसार केटाकेटीको विवाह गर्ने उमेर पुगेको हुनु पर्ने शर्त राखिएको थियो ।
सामूहिक विवाहका लागि माग गरिएको आवेदन फाराममा वर र बधुको उमेर खुल्ने नागरिकता वा जन्मदर्ता संलग्न गरिएको विश्व हिन्दु परिषद् नेपालको भातृ सङ्गठन सन्त मार्ग दर्शन मण्डलका सह संयोजक महन्थ लक्ष्मण दासले जानकारी दिनु भयो ।
विवाह अघि १ सय ८ जोडीलाई जनकपुरको नगर परिक्रमा गराइएको छ । यसैबिच, प्रदेश २ को मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयका अनुसार मुख्यमन्त्रीले नव विवाहित जोडीलाई सम्मान गर्ने कार्यक्रम समेत गरेको छ ।



