प्रहरीद्वारा यातना पाएका राप्ती सोनारी गाउँपालिका–२ कचनापुरका ४२ वर्षीय झुपबहादुर विष्टले अदालतको आदेश बमोजिम क्षतिपुर्तिको माग गदै जिल्ला प्रशासन कार्यालयमा मङ्सिर ११ गते निवेदन दर्ता गराउनुभएको छ ।

उहाँले अदालतको फैसला बमोजिम क्षतिपुर्ति रकम उपलब्ध गराई पाउँ भन्दै जिल्ला प्रशासन कार्यालय बाँकेका प्रमुख जिल्ला अधिकारी (सिडिओ) कुमारबहादुर खड्कालाई निवेदन पेश गर्नुभएको हो ।
सिडिओ कुमारबहादुर खड्काले क्षतिपुर्तिको लागि केन्द्रमा सिफारिस गर्ने बताउँदै अदालतको आदेश कार्यान्वयनमा पहल गर्ने बताउनु भयो ।
जिल्ला अदालतले घटनामा सङ्लग्न रहेको ठहर गर्दै ०७१ माघ २० गते असई बुद्धिप्रसाद शर्मा, हवल्दार धनबहादुर चन्द र प्रहरी जवान मानबहादुर थापालाई विभागीय कारबाहीका लागि लेखी पठाउने र पीडितलाई १ लाख रुपियाँ क्षतिपूर्ति दिन फैसला गरेको थियो ।
उक्त फैसलालाई उच्च अदालत तुलसीपुर नेपालगञ्ज इजलासले ०७३ मङ्सिर २१ गते जिल्ला अदालतको फैसलालाई सदर गरेको थियो ।
बाँकेको कुसुमबाट घर फर्कदै गर्दा अगैयामा नाचगान हेर्न पुगेका विष्टलाई प्रहरी हवल्दारसँग विवाद गरेको आरोपमा०७० साउन १ गते गिरफ्तार गरी प्रहरी चौकी अगैयामा यातना दिएको भन्दै पीडित विष्टले ०७० साउन ९ गते यातना दिनेलाई कारबाही र क्षतिपूर्ति माग गर्र्दै जिल्ला अदालतमा मुद्दा दायर गर्नु भएको थियो ।
प्रहरीको यातना र कुटपिटबाट उहाँको आँखा, टाउको, पिठ्युँ र दुवै घुँडाको माथिल्लो भाग, बाँया आँखा र छातिमा चोट लाग्नुका साथै दाँतसमेत भाँचिएको थियो । उक्त घटना इन्सेकद्वारा प्रकाशित नेपाल मानव अधिकार वर्ष पुस्तक २०१४ को पृष्ठ ५४८ मा समेत उल्लेख छ ।
पीडितले मुद्दा जितेपनि अदालतको फैसला कार्यान्वयन गर्नमा समस्या देखिएको अधिवक्ता बसन्त गौतमले बताउनु भयो ।