INSEC Online

📅 २०८३ जेष्ठ २१

दुर्गममा पुगेन मतदाता शिक्षा, मतदाता अन्योलमा

मकालु गाउँपालिका–४ पावाखोलाकी ३२ वर्षीया सम्झना तामाङलाई भेट्ने जतिले आ–आफ्नो चुनाव चिन्हमा भोट हाल्न आग्रह गरे ।

तर, कसैले पनि बदर नहुने गरी मतपेटिकामा मतपत्र खसाल्ने भनेर सिकाएनन् । ‘सबै आउँछन् माइकिङ गर्छन । जान्छन् ।’–उहाँले भन्नुभयो–‘अहिलेसम्म कसैले पनि भोट हाल्ने तरिका सिकाएनन् ।’

सम्झना तामाङ जस्तालाई भोट हाल्ने तरिका सिकाउनु पर्ने जिम्मेवारी निर्वाचन आयोगबाट मतदाता शिक्षा स्वयंसेवकको हो ।

तर, उनीहरू क्रियाशील नहुँदा मतदाता अन्यौलतामा छन् । निर्वाचन आयोगले प्रशिक्षण दिएर प्रत्येक मतदान केन्द्रमा खटाएका स्वयम्सेवकहरू आफ्नो मुख्य जिम्मेवारी छाडेर चुनावी रमझममै भुलेका छन् ।

आफूले मन पराएको उम्मेदवारलाई भोट हाल्ने समय नजिकिदा पनि मकालु गाउँपालिकाका दुर्गम बस्तीका नागरिकले भोट हाल्ने तरिका जानेका छैनन् । दुर्गम बस्तीमा अहिलेसम्म मतदाता शिक्षा कार्यकर्ता पुगेका छैनन् ।

जिल्ला निर्वाचन कार्यालयले सबै ठाउँमा मतदाता शिक्षा कार्यक्रम सञ्चालन गरिरहेको जनाए पनि त्यो प्रभावकारी देखिएको छैन । समय छोटो भएकाले पनि सबै मतदाताका घरसम्म मतदाता शिक्षा कार्यकर्ता पुग्न सकेका छैनन् ।

जिल्ला निर्वाचन कार्यालय सङ्खुवासभाका अनुसार मकालु गाउँपालिकाको लागि १२ जना र खाँदबारी नगरपालिका–३ को लागि २ जना मतदाता शिक्षा कार्यकता खटिएका छन् ।

०७४ सालमा सम्पन्न प्रदेश तथा प्रतिनिधि सभाको निर्वाचनमा छिमेकीको सहयोगमा भोट दिनुभएकी लाक्पादिकी शेर्पाले यसपटकको चुनावमा आफैँले छाप लगाउने विचार गर्नु भएको छ, तर भोट खसाल्ने तरिका भने थाहा नभएको उहाँको गुनासो छ ।

‘आफैँले भोट हाल्न मन लागेको छ ।’–उहाँले भन्नुभयो–‘भोट कसरी हाल्ने थाहा छैन ? बिग्रिने पो हो कि ?’

उहाँसँगै सदरमुकाम खाँदबारीमा भेटिनु भएकी मकालु गाउँपालिका–२ कारमाराङकी सावित्रा लामाले पनि भोट हाल्ने तरिकाबारे थाहा नभएको बताउनुृभयो । ‘कतिओटा मतपत्र हुन्छन् र कति छाप लगाउनुपर्छ भन्ने थाहा छैन ।’–उहाँले बताउनु भयो ।

मकालु गाउँपालिका उपाध्यक्ष चमेली राईले गाउँका धेरैले भोट हाल्ने तरिका नजानेको भनेर सोध्ने गरेको बताउनु भयो ।

उहाँले भन्नुभयो–‘सिकाउन खटिएका मान्छे अहिलेसम्म कोही आएनन् ? यसपटक धेरैको मत बदर होलाजस्तो छ ।’

गाउँका अधिकांश पुरूष मतदाता रोजगारीका लागि खाडीमा छन् । घरमा बुढापाका, बालबालिका र महिलाको सङ्ख्या बढी छ ।

जिल्ला निर्वाचन कार्यालयले सदरमुकाममा मतदाता शिक्षा कार्यकर्तालाई तालिम दिएर गाउँ पठाए पनि उनीहरू मतदाताको घरआँगनमा पुगेको देखिँदैन ।

मङ्सिर १४ गते हुने उपनिर्वाचन सङ्खुवासभाको मकालु गाउँपालिका अध्यक्ष र खाँदबारी नगरपालिका वडा–३ को वडाअध्यक्षको पदका लागि हँुदैछ ।

मङ्सिर १४ गते हुने उपनिर्वाचनका लागि मकालु गाउँपालिकामा ९ हजार १ जना र खाँदबारी–३ मा १८ सय २२ जना मतदाता छन् ।

अन्य

भिडियो