INSEC Online

📅 २०८३ जेष्ठ २१

आधा पाठ्यपुस्तक पढेर वार्षिक परीक्षा !

कर्णाली प्रदेशका हिमाली जिल्ला जुम्लालगायत मुगु, डोल्पा र हुम्ला जिल्लामा फागुनदेखि शैक्षिक सत्र सुरू हुने मङ्सिरमा वार्षिक परीक्षा लिने राज्यले व्यवस्था गरेको छ । पुस माघ महिना जाडो विदा हुने गर्दछ ।

राज्यले बालबालिकाका लागि निःशुल्क शिक्षा प्राप्त हुने हकको संवैधानिक व्यवस्था गरेको भएपनि हरेक वर्ष आधा किताब पढेर परीक्षा दिनु परेको कनकासुन्दरी मावि लुड्कुमा कक्षा १० मा अध्ययनरत पुजनकुमार उपाध्याय गुनासो गर्नुभयो ।

पाठ्यपुस्तक पूरा नहुँदै परीक्षामा सामेल हुनुपर्दा निकै समस्या हुने गरेको उहाँले बताउनुभयो । उहाँका अनुसार समयमै पाठ्यपुस्तक नपाइनु, शिक्षक नियमित विद्यालय नआउनु र शिक्षक नआएपछि विद्यार्थी पनि स्कुल नजाने प्रवृत्तिले हरेक वर्ष यस्तै घटना दोहोरिने गरेको छ ।

विद्यालयमा विषयगत शिक्षक नहुनु, भएका शिक्षक पनि नियमित विद्यालयमा उपस्थित नहुनु र विद्यालयमा आएका शिक्षकले नियमित नपढाउनरजस्ता गतिविधिले आधा किताब पढेर परीक्षा दिनु परेको महादेव आधारभुत विद्यालयमा कक्षा ७ मा अध्ययनरत छात्र शेरबहादुर रोकायाले बताउनुभयो ।

‘गणित, सामाजिक, नेपाली, विज्ञान र कम्प्युटर जस्ता अनिवार्य विषयहरूको पाठ्यक्रम वर्षभरी सकिएनन् ।’–उहाँले भन्नुभयो–‘तर पनि विद्यार्थीलाई परीक्षा दिनुपर्ने बाध्यता नै भयो ।’

कनकासुन्दरी माविका विद्यार्थी प्रेमप्रसाद उपाध्याय हरेक परीक्षामा अलमलिने गरेको बताउनुहुन्छ । पाठ्यपुस्तक नसकिँदै परीक्षामा सामेल हुनुपर्दा निकै अलमल हुने गरेको उहाँको भनाइ छ ।

हरेक शैक्षिक सत्रमा २ सय २० दिन विद्यालय खुल्नुपर्ने र १ सय ९२ दिन कक्षा हुनुपर्ने शिक्षा ऐनमा व्यवस्था गरिएको छ, तर यो प्रावधान यहाँका विद्यालयमा लागू हुन सकेको छैन ।

शैक्षिक सत्र सुरू भइसक्दा र विदा सकिँदा पनि शिक्षक विद्यालयमा हाजिर हुँदैनन् । ‘शिक्षकले कक्षामा ध्यान नदिँदा विद्यार्थी मर्कामा परेका छन् । अभिभावकले पनि आफ्ना छोराछोरीको पढाइ कस्तो भइरहेको छ भनेर चासो दिने गरेका छैनन् ।’–शिक्षा विकास तथा समन्वय एकाई जुम्लाका प्रमुख मकरबहादुर भण्डारीले भन्नुभयो–‘यहाँका विद्यालयमा वर्षभरी पाठ्यपुस्तक पुरा नहुनुमा सबैको उत्तिकै दोष छ ।’

दरबन्दीअनुसार शिक्षक नभएका कारण पनि पठनपाठनमा समस्या भएको उहाँको भनाइ छ । ‘स्थानीय सरकार र विद्यालय व्यस्थापन समितिले समयसमयमा अनुगमन गरी पाठ्यपुस्तक पुरा गर्न शिक्षकलाई निर्देशन तथा उत्प्रेरणा दिनुपर्नेमा त्यसो हुन सकेको छैन ।’–भण्डारीले भन्नुभयो ।

जुम्लामा १ सय २३ ओटा आधारभूत र ४७ ओटा माध्यमिक विद्यालय छन् । यी सबै विद्यालयमा गरी १९ हजार २ सय ८४ विद्यार्थी अध्ययनरत छन् ।

अन्य

भिडियो