INSEC Online

📅 २०८३ जेष्ठ २१

पाँचथरका चार ओटा मतदान केन्द्र अति सम्वेदनशील

मङ्सिर १४ गते हुने उपनिर्वाचनका लागि सुरक्षाका दृष्टिकोणले पाँचथरका चार ओटा मतदान केन्द्र अति सम्वेदनशील रहेको जिल्ला सुरक्षा समितिले विश्लेषण गरेको छ ।

जम्मा ३१ मतदान केन्द्रमध्ये दुई स्थलका चार ओटा मतदान केन्द्र अति सम्वेदनशील रहेको प्रमुख जिल्ला अधिकारी मुरारी वस्तीले बताए ।

वस्तीले २३ ओटा मतदान केन्द्र सम्वेदनशील र चार ओटा सामान्य रहेको बताए । निर्वाचनलाई निश्पक्ष र भयरहित रूपमा सम्पन्न गर्न नेपाली सेना, शसस्त्र प्रहरी र नेपाल प्रहरी परिचालन गरिने प्रमुख जिल्ला अधिकारी वस्तीले बताए ।

सुरक्षा सम्वेदनशीलताका आधारमा निर्वाचन पूर्व, निर्वाचन र निर्वाचन पश्चातको सुरक्षा व्यवस्था मिलाउने तयारी पूरा गरिएको उनले बताए ।

पाँचथरमा फाल्गुनन्द गाउँपालिकाको अध्यक्ष, फिदिम नगरपालिका–१ को वडाध्यक्ष र हिलिहाङ गाउँपालिका–७ को वडाध्यक्ष गरी तीन पदमा उपनिर्वाचन हुँदैछ ।

यसका लागि फाल्गुनन्द गाउँपालिकामा आठ जना, फिदिम नपा–१ का लागि सात र हिलिहाङ गाउँपालिका–७ का लागि ६ गरी जम्मा २१ जनाले उम्मेदवारी दर्ता गराएका छन् ।

फाल्गुनन्द गाउँपालिकामा १६ हजार ५ सय ७७ जना मतदाता रहेको जिल्ला निर्वाचन कार्यालयका निमित्त निर्वाचन अधिकारी सरोज मेहेताले बताए ।

सो गाउँपालिकामा २३ मतदान केन्द्र रहेको मेहेताले जानकारी दिए । फिदिम नपा–१ मा ३ हजार ६ सय ७६ जना मतदाता रहेको निर्वाचन कार्यालयले जनाएको छ । यस वडामा एक स्थलको तीन मतदान केन्द्र रहेका छन् ।

यसैगरी, हिलिहाङ गाउँपालिका–७ मा २ हजार ६ सय जना मतदाता रहेको निमित्त निर्वाचन अधिकारी मेहेताले बताए । यस वडामा तीन स्थलमा चार ओटा मतदान केन्द्र रहेका छन् ।

अन्य

भिडियो