दलित समुदायका व्यक्तिहरूलाई जातीय विभेद गरेको आरोपमा सुखिपुर नपा–४ का ५२ वर्षीय उपेन्द्र यादव, औरही गाउँपालिका–३ का ४२ वर्षीय रामचन्द्र यादव र ४६ वर्षीय रामपृत यादवविरूद्ध पीडितहरू सुखिपुर नपा–४ का ६५ वर्षीय सिहेश्वर मोची र ५३ वर्षीय चन्द्रदेव पासवानले जिल्ला प्रहरी कार्यालय सिरहामा कात्तिक २८ गते उजुरी दिएका छन् ।
कात्तिक २३ गते स्थानीय ७० वर्षीय सुर्यनाथ यादवको मृत्यु भोज खान गएका दलित समुदायका व्यक्तिहरूलाई आरोपितहरूले भोज खान दिएको पात र खाना सामग्री सहित फ्यालेर गाली गलौज तथा हातपात समेत गरेको पीडित चन्द्रदेव पासवानले बताए ।
‘गाउँलेहरूलाई दिउँसै भोज खान बोलाएका थिए, तर हामी दलितहरूलाई साँझ ७ बजे मात्र भोज खान आउनु भनी निम्ता गरेका थिए र हामी भोज खान गए पनि आरोपितहरूले रातै नपरी आँगनमा बसेर खान्छस् भनी दुर्व्यवहार गरेकोले कार्वाहीको लागि उजुरी दिएका हौँ ।’–चन्द्रदेवले भने ।
जिल्ला प्रहरी कार्यालय सिरहाका डिएसपी अपिलराज बोहराका अनुसार घटनाको जानकारी हुनासाथ कारवाही प्रकृया अगाडि बढाएको बताए । मुद्दा दर्ता गरी आरोपितहरूलाई गिरफ्तार गर्न प्रहरी परिचालन गरेको डिएसपी बोहराले बताए ।