INSEC Online

📅 २०८३ जेष्ठ २१

घरेलु हिंसा पीडित महिलाले इन्सेकको सहयोगमा गरिन् उजुरी

घरेलु हिंसा पीडित शुद्धोधन गाउँपालिका–२ सानो कर्माकी ३७ वर्षीया अवरुन निसा मुसलमानले इन्सेकको सहयोगमा जिल्ला प्रहरी कार्यालयमा उजुरी दर्ता गराएकी छन् ।

गत जेठ १३ गतेदेखि पीडितका पति असवर अली मुसलमान घर छाडेर सम्पर्कविहीन भएपछि सासू तबरुन निसा र ससुरा नेवास अली खानले खान, लाउन र बस्न नदिई कात्तिक २५ गते घर निकाला गरेको पीडितले आरोप लगाएकी छन् ।

घरमा सासू र ससुराले पहिले देखिनै गास, बास र लाउन नदिनुको साथै कुटपिट गरेपछि लबनी प्रहरी चौकी हुँदै जिल्ला प्रहरी कार्यालय तौलिहवासम्म पटक–पटक धाउँदा न्याय पाउन नसकेको पीडितले बताइन् ।

घरबाट निकालेपछि तीन छोरा र तीन छोरीसहित सडकमा बस्दै आएकी पीडितले इन्सेक जिल्ला प्रतिनिधि पार्वती अचार्यलाई न्यायको लागि पहल गरिदिन आग्रह गरेकी थिइन् ।

जिल्ला प्रतिनिधि आचार्यले पीडित समेतलाई लिएर जिल्ला प्रहरी कार्यालयका डिएसपी सुनिल मल्लसँग छलफल गरी उजुरी दर्ता गराएकी हुन् ।

यसअघि प्रहरीले मिलापत्र गराएपनि घटना पुनः दोहरिएपछि पीडितलाई नै आरोप लगाएर जिल्ला प्रहरी कार्यालयको महिला बालबालिका सेवा केन्द्रले उजुरी लिन नमानेको पीडितले बताइन् । डिएसपी मल्लले कानुनी प्रक्रिया अनुसार कारवाही अगाडि बढाइने बताए ।

अन्य

भिडियो