बनगाड कुपिण्डे नगरपालिकामा रहेका १७ ओटा विद्यालयमा आवश्यक शिक्षक नहुँदा पठनपाठनमा समस्या भएको छ ।
सो नपा–४ मा रहेको बाललिला प्राथमिक विद्यालयमा दरबन्दी अनुसारका शिक्षक नहुँदा कार्यालय सहयोगीको भरमा कक्षा सञ्चालन हुँदै आएको अभिभावकले बताएका छन् ।
६० जना विद्यार्थी अध्ययनरत रहेको यस विद्यालयमा तीनजना कार्यालय सहयोगीले अध्यापन गराइरहेको अभिभावक टोपबहादुर बुढाले बताए । शिक्षक नभएको विद्यालयमा बालबालिकालाई पठाउनुपर्ने बाध्यता रहेको उनको गुनासो छ ।
शिक्षक नभएपछि आफैँले विद्यालय सञ्चालन गर्नुपर्ने बाध्यता रहेको बाललिला प्राथमिक विद्यालयकी कार्यालय सहयोगी राधिका बिकले बताइन् ।
‘तलब नपाएको भन्दै सबै शिक्षकले जागिर छाडेर गए । अहिले कोही नभएपछि मेरै भरमा विद्यालय चलिरहेको छ ।’–उनले भनिन् ।
विद्यालयमा शिक्षकको व्यवस्था गरेर वा विद्यालय गाभेर समस्या समाधान हुने राधा निम्न माध्यामिक विद्यालयका प्रधानाध्यापक टोपबहादुर बुढाले बताए । ‘कि विद्यालयमा शिक्षकको व्यवस्था गर्नुपर्यो । कि विद्यालय गाभ्नुप¥यो । अरू विकल्प छैन ।’–बुढाले भने ।
जागरि छोडेका शिक्षकको तलब दिनै २ लाख रुपियाँ बाँकी रहेको बताउँदै प्रधानाध्यापक बुढाले नगरपालिकाले अनुदान रकमको व्यवस्था गरे शिक्षक व्यवस्थापनमा केही सहज हुने भनाई राखे ।
सोही नगरपालिकाको बामेमा रहेको भगवती प्राथमिक विद्यालयमा पनि दरबन्दीका शिक्षक नहुँदा निजी स्रोतबाट भर्ना भएका शिक्षकले अध्यापन गराइरहेका छन् ।
अहिले कक्षा पाँचसम्मका ६५ जना विद्यार्थीलाई पढाउँदै आएको शिक्षिका गङ्गा शर्माले बताइन् । शिक्षक अभावका कारण पठनपाठनमा समस्या भएको शिक्षिका शर्माको भनाई छ ।
विसं २०६६ पछि सञ्चालनमा आएका विद्यालयमा साविकको जिल्ला शिक्षा कार्यालयले दरबन्दीका शिक्षक नपठाएकोले सोही समयदेखि नै विद्यालयमा शिक्षकको समस्या हुने गरेको सरस्वती प्राथमिक विद्यालय, सुनौलीका प्रधानाध्यापक सुरेन्द्र खड्काले बताए ।
सोही नगरपालिकामा रहेको ध्रुवतारा प्राथमिक विद्यालयमा पनि १० वर्षदेखि दरबन्दीका शिक्षक नहुँदा समस्या भोग्नु परेको छ ।
१ सय ५० विद्यार्थी अध्ययनरत् विद्यालयमा एक जना मात्र शिक्षक कार्यरत् रहेको विद्यालय प्रशासनले जनाएको छ ।
प्रतिभा माध्यामिक विद्यालय जयतपानी र नवज्योति माध्यामिक विद्यालय अधेरी सरकारी बेवास्ताका कारण निजी स्रोतका शिक्षकको भरमा चलिरहेका छन् ।
विद्यालयको आयस्रोत नहुँदा र निजी स्रोतका शिक्षकले जागिर छोड्ने क्रम बढ्दा पठनपाठन अस्तव्यस्त बनेको अभिभावकको गुनासो छ ।
शारदा, सरस्वती, भेरी, भगवती, जनकल्याण र भैरवी निम्न माध्यामिक विद्यालय शिक्षक अभावमा बन्द हुने अवस्थामा रहेका छन् ।
यसअघि विद्यालयमा सञ्चालनमा रहेको पीसीएफ रकम कटौती भएपछि निजी स्रोतका शिक्षकले विद्यालय छाड्दा पढाइ प्रभावित बनेको अभिभावकको गुनासो रहेको छ ।
नगरपालिकाभित्र रहेका ५५ ओटा विद्यालयमा दरबन्दी अभावकै कारण समस्या भोग्नुपरेको बनगाड कुपिण्डे नगरपालिकाका शिक्षा शाखा अधिकृत चक्र रावतले बताए ।
नगरभित्र दुई ओटा माध्यामिक विद्यालय, १० ओटा निम्न माध्यामिक विद्यालय र पाँच ओटा प्राथमिक विद्यालयमा दरबन्दी शुन्य रहेको रावतले बताए ।
निजी स्रोतका शिक्षकलाई नगरपालिकाले तलब दिने योजना बनाए पनि विभिन्न कारणले योजना सफल हुन नसकेको उनको भनाई छ ।
विद्यालयलाई दामासाही तरिकाले रकम दिन खोज्दा नमानेपछि अनुदान वितरणको काम रोकिएको अधिकृत रावतको भनाई छ ।
बनगाड कुपिण्डे नगरपालिकाका प्रमुख गोविन्दकुमार पुनले भने नगरभरिका सबै विद्यालयमा शिक्षक व्यवस्थापनका लागि योजना बनाइरहेको बताए ।