करिब तीन वर्ष पहिले महिला हिंसामा परी पीडित भएकी दोलखाकी स्वस्तिका थापाले सामजिक क्षेत्रमा सकृय रूपमा लाग्छु भन्ने कल्पनासम्म पनि गरेकी थिइनन् । कुनै बेला महिला हिंसाबाट पीडित भएकी थापा सामान्य अवस्थामा आएर यसरी सामाजिक क्षेत्रमा लागेको ६ महिना भएको बताउँछिन् ।
आफूलाई परेको पीडाको भोगाइका कारण नै उनी हिंसाबाट पीडित भएका महिलाहरूलाई सहयोग गर्दै उनीहरूलाई न्यायिक पहुँचसम्म पुर्याउन मद्दत गर्नेमा लागिरेको बतउँछिन् । तीन महिनादेखि हिंसा प्रभावितहरूका लागि कानुनी परामर्शसम्बन्धी तालिम नै लिएर अहिले माहानगरीय प्रहरी परिसर कालिमाटीको महिला तथा बालबालिका सेवा केन्द्रमा उनी कार्यरत छिन् ।
कुनै समयमा प्रहरी भनेपछि तर्सने थापा आज आफैँ प्रहरीहरूसँगको समन्वयमा पीडितको न्यायका लागि कार्यरत रहेको बताउँछिन् ।
हाल काठमाडौँको बानेश्वरमा बस्दै आएकी थापा अहिले महानगरीय प्रहरी परिसर कालिमाटीको महिला तथा बालबालिका सेवा केन्द्रमा आउने हिंसा प्रभावितहरूको सहयोगका लागि कार्यरत रहेको बताउँछिन् ।
विभिन्न घटनामा पीडित भएका महिलाहरू प्रहरीमा आएपछि उनीहरूलाई कानुनी सेवा दिनु उनको काम हो । प्रहरीमा आएपछि पनि सुरूमै आफ्नो समस्या भन्न अन्कनाउने पीडितहरूलाई परामर्श दिँदै गएपछि विस्तारै पीडितहरू खुल्ने गरेको बताउँदै थापाले भनिन्–‘सुरूमा पीडितहरू प्रहरीदेखि नै डराउँछन् । प्रहरीसँग मनको कुरा खोल्दैनन् । विस्तारै सम्झाउनुपर्छ । उनीहरू बल्ल खुल्न थाल्छन् ।’
कतिपय पीडितहरूले सुरूमा आफूलाई पनि प्रहरी ठानेर घटनाबारे भन्नै डराउने गरेको उनको अनुभव छ । प्रष्ट नखुल्ने पीडितहरू समक्ष परामर्श दिँदै गर्दा कुनैबेला आफू पनि पीडित भएको कुरा सुनाउँदै उनीहरूलाई आफ्ना कुरा राख्न अझ सहज वातावरण बनाइदिने गरेको थापा बताउँछिन् ।
काठमाडौँको सबैभन्दा बढी उजुरी पर्ने कालिमाटी वृत्तमा रहेकी उनीसँग उनी जस्तै अर्की एकजाना साथी किरण घर्ती छिन् । उनीहरू दुवै जना मिलेर पीडितका लागि सक्दो काम गर्ने गरेको बताउँछन् । तालिम लिएको तीन महिना भएपनि यस क्षेत्रमा उनी एक वर्षदेखि कार्यरत हरेको बताउँदै एक वर्षको अवधिमा घरेलु हिंसा र साइवर अपराधसम्बन्धीका धेरै घटनाका प्रभावितहरूलाई कानुनी परामर्शदेखि उजुरी दर्ताका प्रक्रियामा सहयोग गर्न सफल भएको उनको दावी छ ।
यसरी थापालगायत उपत्यकामा खटिएका ३० जना स्वयम्सेवीमध्ये काठमाडौँ प्रहरीका १४ ओटा वृत्त कार्यालय र परिसरमा थापा जस्तै विभिन्न घटनाका पीडित १८ जना स्वयम्सेवीहरू खटिएका छन् ।
उपत्यकामा हिंसाबाट प्रभावित महिला तथा बालबालिकालाई न्यायमा पहुँच बढाउन पनि महिला स्वयम्सेवीद्वारा कानुनी सहायता कार्यक्रम थालिएको हो । उनीहरूले एक वर्षसम्म विभिन्न वृत्त तथा परिसरमा रहेर काम गर्ने गरी सम्झौता समेत भइसकेको र यसरी सम्झौता गरेर काठमाडौँ, भक्तपुर र ललितपुरमा गरी ३० जना स्वयम्सेवीहरूलाई खटाइएको छ ।
अपराध नियन्त्रण गरी शान्ति सुरक्षा कायम गर्न सहज हुने भएकाले प्रहरीले यसरी समुदायबाट नै सहभागी गराउन थालेको महानगरीय प्रहरी परिसर काठमाडौँका एसएसपी उत्तमराज सुवेदी बताउँछन् । समुदायकै व्यक्ति त्यसमा पनि पीडित पक्षलाई नै यस्ता कार्यमा संलग्न गराउँदा उनीहरूको कामबाट पीडितहरू सहज रूपमा खुल्ने र प्रहरीले पनि समुदायबाट धेरै ज्ञान हासिल गर्ने भएकाले आपसी सहयोग आदानप्रदान हुने पनि एसएसपी सुवेदीको धारणा छ ।