INSEC Online

📅 २०८३ जेष्ठ २१

महिला र बालबालिकासहित तीन जनाको शव फेला, हत्याको आशङ्का

चन्द्रकोट गाउँपालिका–३ हर्राचौरमा तीन जनाको शव कात्तिक १६ गते फेला परेको छ । एक महिला र दुई बालिकाको शव फेला परेको हो ।

महिला अन्दाजी २७ वर्षीया र बालिका सात र ११ वर्षका रहेको जिल्ला प्रहरी कार्यालयका डिएसपी मिनबहादुर घलेले बताए ।

घटनास्थलमा तीन जनाको शव तीन ठाउँमा छरिएर रहेको छ । महिलादेखि एउटा बालिकाको शव २ सय मिटर र अर्की बालिकाको शव २ सय ३० मिटरको दुरीमा फेला परेको डिएसपी घलेले जानकारी दिए ।

घटनास्थलको अवस्था हेर्दा स्थानीयले हत्या गरेर फालिएको अनुमान गरेका छन् । चन्द्रकोट गाउँपालिका–३ हर्राचौरका वडाध्यक्ष किरण शाहाले घटनास्थलमा रगत बगेको र टाउकोमा ढुङ्गाको चोट भएकाले हत्या गरिएको हुनसक्ने बताए ।

घटनास्थल सरमुकाम तम्घासबाट साढे ५ घण्टाको सवारी दुरीमा रहेको प्रहरीले जनाएको छ । अहिले इलाका प्रहरी कार्यालय चन्द्रकोटको टोली घटनास्थल पुगेको छ ।

जिल्ला प्रहरी कार्यालय गुल्मीका इन्स्पेक्टर राजकुमार रावलको नेतृत्वको प्रहरी टोली घटनास्थलतर्फ लागेको डिएसपी घलेले बताए ।

दुर्गम ठाउँ र अवेर सूचना प्राप्त भएकाले इलाका र जिल्लाबाट प्रहरी पुग्नै समय लागेकाले घटनाको थप अनुसन्धान बाँकी रहेको एसपी राजेन्द्रसिंह खड्काले बताए । शवको पोष्टमार्टम गर्न पनि बाँकी रहेको प्रहरीले जनाएको छ ।

अन्य

भिडियो