४८ वर्षीया महिलालाई बलात्कार गरेको आरोपमा प्रहरीले चौरजहारी नपा–२ विजयश्वरीका ४० वर्षीय दलबहादुर चन्दलाई कात्तिक १४ गते घरबाटै गिरफ्तार गरेको छ ।
पीडित महिलालाई आरोपितले असोज १९ गते र कात्तिक ८ गते बलात्कार गरेको भन्दै पीडित महिलाले कात्तिक १४ गते जिल्ला प्रहरी कार्यालय, रूकुम पश्चिममा उजुरी दिएकी थिइन् ।
चन्दले पहिलोपटक बलात्कारपछि कसैलाई भनेमा मार्ने धम्की दिएकोले सहेर बसेको र फेरि पनि कोही नभएको मौका छोपी बलात्कार गरेर उल्टै पीडित महिलाबाट ४ लाख रुपियाँ माग गरेको पीडित पक्षले दिएको उजुरीमा उल्लेख भएको प्रहरीले जनाएको छ ।
४ लाख रुपियाँ नदिएमा समाजमा आफ्नो बेइज्जत गर्ने धम्की दिएपछि आफू मानसिक रूपले समेत पीडित बनेर आत्महत्याका लागि भेरी नदीमा जाँदै गर्दा पतिले भेटेर फर्काएको पीडित महिलाले बताइन् ।
पीडित पक्षको उजुरीका आधारमा आरोपित चन्दलाई गिरफ्तार गरी घटनाको अनुसन्धान गरिरहेको जिल्ला प्रहरी कार्यालय, रूकुम पश्चिमका डिएसपी सुमित खड्काले जानकारी दिए ।
पीडित महिलाको स्वास्थ्य परीक्षण कात्तिक १५ गते जिल्ला अस्पताल, सल्लेमा गरिएको प्रहरीले जनाएको छ ।