एक महिना देखि जिल्ला कारागार, लमजुङमा स्वस्थ्यकर्मी नहुँदा कारागारमा रहेका कैदी बन्दीहरूलाई स्वास्थ्यय परिक्षण तथा उपचारमा समस्या भएको छ ।
कारागारमा एकजना हेल्थ असिस्टेन्टको दरबन्दी रहेकोमा कर्मचारी समायोजनको कारणले सरूवा भई कर्मचारी गएपछि आउने कर्मचारी नआउँदा कारागरमा समस्या भएको कारागार प्रमुख विष्णु पौडेलले बताए ।
कारागारमा कार्यरत हेल्थ असिष्टेण्ट मनिषा चन्द कर्मचारी समायोजन अन्तर्गत एक महिना अघि रूपन्देही जिल्लामा सरूवा भई गएपछि हालसम्म सो पदमा अर्काे स्वास्थ्यकर्मी नआएकोले समस्या भएको प्रमुख पौडेलले बताए ।
पछिल्लो समयमा मौसम परिवर्तनका कारणले कारागरमा दैनिकजसो रूघाखोकी तथा भाइरल ज्वरोका बिरामी बढेको भएपनि स्वास्थ्यकर्मी नहुँदा बाहिरबाट औषधि ल्याउनुपरेको प्रमुख पौडेलको भनाई छ ।
बेसीशहर नगरपालिकामा रहेको स्वस्थ्य एकाईमा कर्मचारी पठाइदिन अनुरोध गर्दै तीन पटकसम्म पत्र पठाएपनि सुनुवाइ नभएको पौडेलको गुनासो छ ।
कारागारमा हाल १५ जना उच्च रक्तचाप, सातजना मधुमेह र एक जनाले दमको औषधि दैनिक रूपमा सेवन गर्ने गरेको कारागार प्रमुख पौडेलले बताए । पौडेलका अनुसार स्वास्थ्यकर्मी नहुँदा दैनिक औषधि सेवन गर्ने बिरामीलाई समस्या भएको छ ।
दमका बिरामी ज्ञानबहादुर लामाले नियमित दमको औषधि लिने गरेको र दुई दिनको अन्तरमा प्रेसरको पनि चेकअप गर्ने गरेको भएपनि स्वस्थ्यकर्मी नहुँदा नियमित स्वास्थ्य परीक्षणमा समस्या भएको बताए । हाल स्वास्थ्यकर्मी नहुँदा कारागारका चौकीदार दिनेश परियारले प्रेसर जाँच्ने गरेको लामाले बताए ।
मुटुको समस्या भएकी भ्यान्टीमाया बिक चाडपर्वमा खानपानका कारण पनि कैदीबन्दीको स्वास्थ्य समस्या हुने गरेको बताउँदै स्वास्थ्यकर्मीको सल्लाह विना खानपान खानुपर्ने भएको र तत्काल चेकजाँच नहुने समस्या रहेको बताउँछिन् ।
अहिले कैदीबन्दीलाई कारागारकै कर्मचारीले आवश्यकता पर्दा औषधि दिने गरेको कार्यालय प्रमुख पौडेलले बताएका छन ।
बेसीशहर नगरपालिकाका प्रमुख गुमानसिङ अर्यालले कार्यालयमा आवश्यक परेको बेलामा स्वास्थ्यसेवा प्रदान गरिरहेको बताउँदै दरबन्दी मिलान गरी छिट्टै कर्मचारी पठाउने तयारीमा रहेको जानकारी दिए ।