बर्दिबास नगरपालिका–१२ का वडाध्यक्ष रामकिशोर साहले सेवाग्राहीलाई कुटपिट गरेको घटना सार्वजनिक भएको छ ।
बर्दिबास नपा–१३ बिजलपुरा बस्ने २३ वर्षीय सुनिलकुमार महतोलाई वडाध्यक्ष साहले कुटपिट गरी घाइते बनाएको आरोपमा उजुरी गरेपछि घटना सार्वजनिक भएको हो ।
इलाका प्रहरी कार्यालय वदिवासले वडाध्यक्षविरूद्ध उजुरी दर्ता गर्न नमानेपछि पीडितले कात्तिक १ गते हुलाक मार्फत ‘उजुरी चिठी’ पठाएका हुन् । पीडितले अधिकारकर्मीहरूसँग न्यायको लागि सहयोग गरि दिनसमेत आग्रह गरेका छन् ।
यस्तो थियो घटना
दुई साताअघि पीडित महतोले राती चोरी गर्न आएका चोरलाई कारवाहीको लागि वडा कार्यालयमा निवेदन दिएका थिए ।
गत असोज २८ गते मङ्गलबार वडा कार्यालयले उजुरी दिएका सुनिललाई छलफलको लागि वडा कार्यालयमा बोलाउन लगायो ।
छलफलमा विवाद भयो । यसैक्रममा वडाध्यक्ष र उनको भाइ राजकुमार साहले न्याय माग्न गएको महतोमाथि निर्घात कुटपिट गरे ।
घटना स्थलबाटै फोन गरेर प्रहरीसँग गुहार मागेका सुनिलका बुबा लक्ष्मेश्वर महतोलाई पनि उनीहरूले कुटपिट गरेको पीडितको आरोप छ ।
घटना स्थलबाटै फोन गरेर प्रहरीसँग गुहार मागेका सुनिलका बुबा लक्ष्मेश्वर महतोलाई पनि उनीहरूले कुटपिट गरेका पीडितको भनाइ छ । कुटाइबाट सुनिलको टाउको र गोडामा चोट लागेको छ ।
उनको बर्दिबासस्थित बेटर नेपाल हस्पिटलमा प्राथमिक उपचारपछि थप उपचारको लागि काठमाडौँ पठाइएको थियो उनी उपचारपछि घर फर्किएका छन् ।
‘एक वर्षअघि वडाध्यक्ष वडा कार्यालयको टेवलमा गोडा तन्काएर सुतिरहेको अवस्थामा सुनिलले फोटो खिचेर पत्रकारलाई दिएको थियो र समाचार भाइरल भएको थियो ।
त्यति बेलाको फोटो खिचेको भनि वडाध्यक्षले अहिले आफू माथि कुटपिट गरेको पीडितको भनाई छ । उनले भने–‘न्याय माग्न वडा कार्यालय जाँदा तँ होइन मेरो फोटो खिचेर भाइरल बनाउने ? तँलाई खोजिरहेको थिएँ । आज फेला परिस् भन्दै झापट हानेका हुन् । र, उनको भाइले समेत निर्घात कुटपिट गरे पछि म बेहोस् भए ।’
वडाध्यक्षले सेवाग्राही कुटेकोबारे लिखित उजुरी नपरेको इलाका प्रहरी कार्यालय बर्दिबासका डिएसपी निशान थापाले बताए ।
‘पीडितलाई लिखित उजुरी, उपचार गराएको बिरामी पूर्जी लिएर आउन भनेका छौँ । तर, अहिलेसम्म नआएको डिएसपी थापाले बताए । उनले उजुरी आए घटनाबारे कानुन अनुसार अनुसन्धान गर्ने बताए ।