INSEC Online

📅 २०८३ जेष्ठ २१

सुरक्षित प्रसूति केन्द्रमा स्वास्थ्यकर्मी नहुँदा गर्भवती महिलालाई समस्या

चैनपुर नगरपालिका–१ नुनढाकी स्वास्थ्य चौकीमा स्वास्थ्यकर्मी अभावका कारण सुरक्षित प्रसूति केन्द्र (वर्थिङ सेन्टर) सञ्चालन हुन नसक्दा गर्भवती महिलाहरूले समस्या झेल्नु परेको छ ।

सुरक्षित प्रसूति केन्द्रमा कार्यरत स्वास्थ्यकर्मीहरू समायोजन भई अन्यत्र गइसकेको र समायोजनबाट आउने स्वास्थ्यकर्मी नआएकोले गर्भवती महिलाहरूले समस्या भोग्नु परेको हो ।

असोज २९ गते स्वास्थ्य चौकी नुनढाकी पुगेकी स्थानीय २९ वर्षीया सावित्रा लिम्बु स्वास्थ्यकर्मी नभएकै कारण गर्भवती जाँच नगराई फर्किएको भन्दै गुनासो गरिन् ।

उनले भनिन्–‘म दशैँ अगाडि पनि गर्भ जाँच गराउन आएको थिए त्यतिबेला पनि स्वास्थ्यकर्मी थिएनन् । आज फेरि आएँ । आज पनि छैनन् ।’

विनाकुमारी लिम्बुको पनि यस्तै दुखेसो छ । उनले भनिन्–‘गर्भ जाँच गर्न पाउनु हाम्रो अधिकारको कुरा हो । तर, स्वास्थ्यकर्मी नभएकोले म आजसमेत तीन पटक जाँच नगराई फर्किसकेको छु ।’

चैनपुर नगरपालिकाका नगर प्रमुख भरतकुमार खत्रीले समायोजन भएर स्वास्थ्यकर्मीहरू अन्यत्रै जाँदा र नयाँ नआउँदा यो समस्या झेल्नु परेको दुखेसो गरे ।

उनले भने–‘यो त उदाहरण मात्रै हो चैनपुर नगरपालिकाका अन्य स्वास्थ्य चौकीहरूमा पनि यस्तै समस्या छ । जाने कर्मचारीको लागि हामीले रमना दिएर पठायौँ । तर, आउनेले ढिलो गर्दा यो समस्या भएको हो ।’

नुनढाकीबाट चैनपुर नगरपालिकामा रहेको प्राथमिक स्वास्थ्य केन्द्र आउनु पर्ने गर्भवती महिलााई बाध्यता परेको छ । नुनढाकीबाट चैनपुर आइपुग्न पैदल ८ घण्टा लाग्ने गरेको छ ।

चैनपुर नगरपालिकाको वडा नं ११ मा अवस्थित खराङ स्वास्थ्य चौकीमा उस्तै समस्या रहेको छ । असोज २६ गते स्थानीय २६ वर्षीया निर्मला दाहाललाई सुत्केरी व्यथाले च्यापेपछि उनका आफन्तले घरदेखि करिब दुई घण्टा टाढा रहेको स्वास्थ्य चौकीमा भएको बर्थिङ सेन्टरसम्म पु¥याए ।

तर, वर्थिङ सेन्टरमा कुनै स्वास्थ्यकर्मी नभएकोले उनी त्यहीँको चौरमा सुत्केरी भएको उनका पति सुरेन्द्र दहालले बताए ।

गत असोज २५ गते स्थानीय शर्मिला भुजेललाई पनि सुत्केरी व्यथाले च्यापेपछि खराङ स्वास्थ्य चौकीमा पुर्‍याइएकी स्थानीय शारदा राउतलाई पनि स्वास्थ्यकर्मी नभेटे सुरक्षित रूपमा घर फर्काइएको उनका आफन्त खड्कबहादुर राउतले बताए ।

संविधानको मौलिक हक अन्तर्गत धारा ३५ मा स्वास्थ्यसम्बन्धी हकमा आधारभूत स्वास्थ्य सेवा निःशुल्क प्राप्त गर्ने हक हुनेछ र कसैलाई पनि आकस्मिक स्वास्थ्य सेवाबाट वञ्चित नगरिने उल्लेख गरिएको भएपनि सो सेवाबाट वञ्चित हुनुपरेको स्थानीयको आरोप छ ।

नगर प्रमुख भरतकुमार खत्रीले स्वास्थ्यकर्मीहरू नगरपालिकामा हाजिर हुन आउने बितिकै सबैलाई खटाइने बताए ।

अन्य

भिडियो