INSEC Online

📅 २०८३ श्रावण १

दाइजो नल्याएको आरोपमा एक महिलाको हत्या, घटनाका चार जना आरोपित गिरफ्तार

विराटनगर महानगरपालिका–११ की २२ वर्षीया रञ्जना सहनी (बहरदार) लाई दाइजो नल्याएको आरोपमा परिवारका सदस्यले हत्या गरेको प्रहरीले जनाएको छ ।

पर्याप्त दाइजो नल्याएको आरोपमा भारतको अररीया जिल्ला जोगवनीस्थित भेडेयारिका २५ वर्षीय भिम बहरदारले हत्या गरेर रञ्जनाको शव परमान खोलामा फालेको अवस्थामा फेला परेको जोगवनी प्रहरी चौकीका इन्स्पेक्टर अफताब अहमदले बताए ।

इन्स्पेक्टर अहमदका अनुसार २२ वर्षीया रञ्जनाको मृत्यु उनका पति भीम र उनको परिवारको कुटपिटबाट भएको प्रारम्भिक अनुसन्धानबाट खुलेको छ ।

इन्स्पेक्टर अहमदले प्रारम्भिक अनुसन्धानका क्रममा असोज २४ गते राति कुटपिट भएको र सोही राति पीडितको मृत्यु भए पश्चात शव परमान खोलामा फालिएको र २६ गते बिहान खोलामा शव फेला परेको बताए ।

०७५ फागुन २३ गते रञ्जनाको भीमसँग मागि विवाह भएको थियो र सो पश्चात भिमको परिवारले पटक–पटक दाइजो माग्दै आएको मृतकका हजुरबुबा उमालाल सहनीले बताए ।

नातिनीलाई परिवारले दाइजो ल्याउन दबाब दिँदै आएको सुनाएपछि ज्वाँइका लागि ९० हजार भारतीय रुपियाँमा मोटरसाइकल किनिदिएको उमालालले बताए ।

केही समययता पसल सञ्चालन गर्ने भन्दै २ लाख भारतीय रुपियाँ माग गरिएको र सो दिन नसक्दा हत्या गरेको हजुरबुबा उमालालको आरोप छ ।

यसैबीच हत्यामा संलग्न भएको आरोपमा प्रहरीले चार जनालाई गिरफ्तार गरेको छ । प्रहरी चौकी जोगवनीका इन्स्पेक्टर अफताब अहमदले मृतकका २५ वर्षीय पति भिमलाई असोज २५ गते गिरफ्तार गरिएको बताए ।

असोज २६ गते गिरफ्तारीमा पर्नेमा ससुरा शैनी बहरदार, जेठाजु अर्जुन बहरदार र छिमेकी शिवानन्द मुखिया रहेका छन् ।

शवको पोष्टमार्टम असोज २६ गते जिल्ला अस्पताल फारबिसगञ्जमा गरिएको प्रहरी चौकी जोगवनीले जनाएको छ ।

अन्य

भिडियो