रामेछाप जिल्लाका कुनै पनि गाउँपालिकामा दरबन्दी अनुसारका वडा सचिवहरू नहुँदा स्थानीय सरकारले नागरिकलाई दिने सेवा प्रभावित भएको छ ।
६ ओटा गाउँपालिका र दुई ओटा नगरपालिका रहेको रामेछाप जिल्लामा चार ओटा गाउँपालिकामा एक–एक जना मात्र वडा सचिव रहेका छन् भने दुई ओटा गाउँपालिकामा दुई–दुई जना मात्र वडा सचिव रहेका छन् ।
जिल्लाका दुई ओटा नगरपालिकाका वडामा समेत दरबन्दी अनुसारका वडा सचिवहरू नहुँदा प्राविधिक कर्मचारीहरूलाई समेत प्रशासनिक कामको जिम्मा लगाइएको छ ।
कर्मचारी अभावका कारण प्रशासनिक कामको जिम्मा प्राविधिक कर्मचारीलाई दिँदा वडाको काम पनि सहज रूपमा हुन सकेको छैन ।
रामेछाप नगरपालिकाले वडा नं ८ को वडा सचिवको जिम्मेवारी प्राविधिक कृष्णबहादुर भुजेललाई दिएको छ । आफु प्राविधिक क्षेत्रको कर्मचारी भएर प्रशासनिक काम गर्नु पर्दा काम पुरा भयो भनेर पठाएका कतिपय कागजपत्र नमिल्दा सर्वसाधारणलाई हैरानी भएको प्राविधिक कृष्णबहादुर भुजेलले बताए ।
यसरी कृषि प्राविधिकले प्रशासनिक कामको जिम्मा लिँदा कृषि क्षेत्रको काम पनि प्रभावित भएको उनले बताएका छन् ।
गाउँमा कुषि प्राविधिक नआउँदा बालि नालिमा रोग लाग्दा समेत प्राविधिकलाई देखाउन नपाइएको गुनासो कृषकहरूको रहेको छ ।
कृषि प्राविधिक वडा कार्यालयको काममा व्यस्त हुँदा गाउँमा बालीनालीमा किरा लागी बाली नष्ट हुँदा प्राविधिकलाई देखाउन समेत नपाइएको रामेछाप नगरपालिका–८ का कृषक हरिश्चन्द्र घिमिरेले बताए ।
खाँडादेवी गाउँपालिका–२ मझुवाका वडाअध्यक्ष इन्द्रकुमार लामाले यस वर्ष फौजी किराले बाली नष्ट पार्दा कृषकहरूलाई निक्कै समस्या परेको घिमिरेले बताए ।
गाउँपालिकामा कृषि प्राविधिक नहुँदा व्यवसायिक रूपमा खेती गर्ने कृषकहरूले परामर्श लिन नपाएको उमाकुण्ड गाउँपालिकाका अध्यक्ष शेरबहादुर सुनुवारले बताए ।
उनले भने–‘भएका एकजना प्राविधिक पनि प्रशासनिक काममा नै व्यस्त हुँदा कृषकहरूले पाउनुपर्ने सेवा पाएका छैनन् ।’