औरही गाउँपालिका–१ झिटकैयाकी २२ वर्षीया सहानी खातुनलाई असोज २० गते साँझ घरायसी विवादका कारण २६ वर्षीया जेठानी सुनौल खातुनले छुरा प्रहार गरी हत्या गरेको प्रहरीले जनाएको छ ।
साँझ घरमा घरायसी विवादको क्रममा देवरानी सहानी खातुनमाथि जेठानी सुनौल खातुनले छुरा प्रहार गरेकी हुन् ।
घाइते सहानी खातुनको उपचारको क्रममा जनकपुरस्थित काव्या अस्पतालमा मृत्यु भएको हो । सहानीको शरीरको पाँच ठाउँमा छुरा प्रहार भएको थियो ।
शवको पोष्टमार्टम असोज २१ गते जनकपुर अञ्चल अस्पतालमा गरी परिवारजनको जिम्मा लगाइएको जिल्ला प्रहरी कार्यालयका डिएसपी रामेश्वर कार्कीले जानकारी दिएका छन् ।
यता, छुरा प्रहारले गम्भीर घाइते भएकी सहानीलाई उपचारको लागि जनकपुरमा भर्ना गरिएको बेला छुरा प्रहार गर्ने सुनौल खातुनले आफ्नै पेटमा छुरा प्रहार गरी आत्माहत्याको प्रयास गरेकी छिन् ।
आफैँले पेटमा छुरा प्रहार गरी गम्भीर घाइते भएकी सुनौल खातुनको जनकपुर अञ्चल अस्पतालको आइसीयू कक्षमा प्रहरीको निगरानीमा उपचार भइरहेको प्रहरीले जनाएको छ ।
मृतक सहानी खातुनका पति विवरण राइनले छुरा प्रहार गरी पत्नीको हत्या गरेको भन्दै भाउजू सुनौल खातुनविरूद्ध असोज २१ गते जिल्ला प्रहरी कार्यालयमा किटानी जउजुरी दिएका छन् ।
सुनौल खातुन असोज २१ गते बेलुकासम्म बेहोसकै अवस्थामा रहेको जिल्ला प्रहरी कार्यालयका डिएसपी कार्कीले जानकारी दिएका छन् ।