INSEC Online

📅 २०८३ जेष्ठ २१

पुल नहुँदा बालबालिका पढ्नबाट वञ्चित

म्याग्दी जिल्लाको दुर्गम गाउँ सिमकोसका बालबालिकाहरू म्याग्दी नदिमा पुल नहुँदा विद्यालय जनाबाट वञ्चित भएका छन् । जिल्लाको निकै विकट मुदी गाविस-९, सिमकोसका बालबालिकाहरू म्याग्दी नदिमा पुल नभएका कारण नदी तर्न नसक्दा विद्यालय जानबाट बञ्चित भएका हुन् ।

संविधानको मैलिक हक अन्तर्गत धारा ३९ को उपधारा २ मा प्रत्येक बालबालिकालाई परिवार तथा राज्यबाट शिक्षा, स्वास्थ्य, पालन पोषण, उचित स्याहार, खेलकुद, मनोरञ्जन तथा सर्वाङ्गीण व्यक्तित्व विकासको हक हुनेछ भनी उल्लेख गरिएको भएपनि सिमकोसका बालबालिकाहरू पढ्ने अधिकारबाट वञ्चित भएका हुन् ।

सिमकोसमा बसोवास गर्ने आठ घरधुरीका १२ जना बालबालिका भौगोलिक विकटता एवम् नदीमा तर्नका लागि बनाइएको तुइन यसैवर्ष वैशाखमा बिग्रिएपछि विद्यालय जानबाट वञ्चित भएका हुन् ।

पुल नहुँदा तुइनबाट विद्यालय जाने आउने गरेका विद्यार्थीहरूलाई तुइन पनि बिग्रिएपछि मुदी बगरमा रहेको कैलाश प्राविसम्म आउन कठिन भएकोले आफ्ना बालबालिकालाई विद्यालय पठाउन छाडेको अभिभावकहरू बताउँछन् ।

तुइन बिग्रिएका कारण आफ्ना बालबालिका विद्यालय पठाउन नसकेको स्थानीय मललाल पुर्जाले बताए ।

‘सिमकोसबाट बगर आउन विद्यार्थीलार्इ डेढ घण्टा लाग्ने गर्दछ । तुइन बिग्रिएकाले खोला वारपार गर्न जोखिम हुने भएकाले बालबालिका विद्यालय आउँदैनन् ।’-मुदीस्थित बुद्धि विकास माविका प्रधानध्यापक जगबहादुर किसानले भने ।

जिल्ला शिक्षा कार्यालय म्याग्दीले मुदी गाविसलाई विद्यालय उमेर समूहका विद्यार्थी विद्यालय बाहिर नभएको गाविस घोषणा गरेको भएपनि सिमकोसका ती बालबालिकाहरू भने विद्यालय जानबाट वञ्चित भएका जनाएको छ ।

सो गाविसमा प्राथमिक विद्यालय स्थापनाको अनुमतिका लागि एक पटक कुरा भएको भएपनि थप कुरा अघि नबढेका कारण बालबालिका पढ्न पाउने अधिकारबाट वञ्चित भएको जिल्ला शिक्षा कार्यालय म्याग्दीका अधिकृत दलबहादुर थापाले बताए ।

८ हजार १ सय ६७ मिटर अग्लो धौलागिरी हिमाल नजिकै रहेको सिमकोस गाउँका बासिन्दाको मुख्य पेशा पशुपालन र जडीबुटी सङ्कलन हो ।

अन्य

भिडियो