संविधानको धारा ३५ मा स्वास्थ्यसम्बन्धी हक अन्तर्गत प्रत्येक नागरिकलाई शुद्ध खानेपानी तथा सरसफाईको हक हुनेछ भनी स्पष्ट व्यवस्था गरिएको भएता पनि आदर्श गाउँपालिका–४ हिन्नेकाँडाका करिब २ सय घरपरिवार नाउला वा इनारको दुषित पानी पिउन बाध्य भएका छन् ।
विगत १० वर्षदेखि पिउने पानीको चरम अभाव भएको भए पनि सम्बन्धित निकायले ध्यान दिन नसकेको स्थानीयहरूको आरोप छ ।
प्रत्येक वर्षको फागुनदेखि असारसम्म पिउने पानीको अभाव रहँदै आएको भए पन यस वर्ष साउनमा वर्षाको कारणले मुहानमा ढुङ्गामाटो पसेपछि गैरागाउँस्थित दलितबस्ती र हिन्नेकाँडाका करिब २ सय घरधुरीले पिउने पानीबाट वञ्चित हुनु परेको स्थानीय ३३ वर्षीय विश्वनाथ ओझाले दुखेसो पोखे ।
गाउँ नजिकै रहेको मथिना कुवामा पर्याप्त मात्रामा पानी नभएका कारण बिहान ४ बजेदेखि नै लाइनमा बस्नु परेको र कुनै दिन ५ लिटर पानी पाउन मुस्किल भएको स्थानीय २० वर्षीया सिता भट्टले गुनासो गरिन् ।
स्थानीय ३५ वर्षीया निर्मला ओझाले आफूहरूले बिहान ४ बजेदेखि नै पानीका लागि घरबाट निस्कनु पर्ने र लुगाधुनका लागि दुई घण्टाको दुरीमा रहेको ठुला खोला र बुडलीगाड पुग्नु परेको बताइन् ।
उनले भनिन्–‘रातिको समयमा आवतजावत गर्न डर लाग्छ । बाघ भालुको आक्रमण हुने खतरा छ । तर, पानीका लागि ज्यान खतरामा राख्नु पर्ने अवस्था छ ।’
विगतका वर्षमा कुवामा पर्याप्त मात्रामा पानी आउने गरेको भए पनि हाल पानीमा मुहान सुक्दै गएका कारण समस्या झेल्नु परेको स्थानीय ६० वर्षीय शङ्कर बिकले दुखेसो पोखे ।
जुकाने भन्ने ठाउँमा रहेको हिन्नेकाँडाको खानेपानीको मुहानमा वर्षको सात महिना मात्रै थोरै पानी आउने गरेको भएपनि हाल उक्त पाइपलाइनमा पानी आउन बन्द भएपछि समस्या झेल्नु परेको स्थानीय रवि भट्टले बताए ।
उनले गाउँपालिकासँग पटकपटक समस्या समाधानका लागि अनुरोध गर्दासमेत गाउँपालिकाले आश्वासन मात्रै दिँदै आएको आरोप लगाए ।
गाउँपालिकाका उपाध्यक्ष निर्मला ओझाले गत वर्ष जुकानेदेखि हिन्नेकाँडासम्मको खानेपानी योजना मर्मत गर्न पहल गरिएको र आगामी दिनमा राम्रो मुहान खोजेर स्थानीयलाई खानेपानी पुर्यायउने बताइन् ।