मरिण गाउँपालिका- १ आहालेकी १३ वर्षीया छलिमाया मोक्तानलाई यौन प्रस्ताव अस्वीकार गरको भन्दै १५ वर्षीय बालकले असोज २ गते हत्या गरेको प्रहरीले जनाएको छ ।
गाउँमै रहेको हजुरआमाको घरमा गएर फर्केकी बालिका मोक्तानको पछि लागेका बालकले नजिकैको जङ्गलमा रहेको खोल्सामा पुगेर बालिकाको हत्या गरेको प्रहरीले जनाएको हो ।
बालिकासँग करिब एक घण्टा गफ गरेको र यौन प्रस्ताव अस्वीकार गर्दा घाँटी थिची हत्या गरेको बालकले स्वीकार गरेको जिल्ला प्रहरी कार्यालय सिन्धुलीका एसपी चक्रबहादुर सिंहले बताए ।
आरोपित बालकलाई असोज ४ गते मरिणको कपिलाकोटबाट प्रहरीले गिरफ्तार गरेको छ । परिवारका सदस्यले खोजी गर्दा बालिका फेला नपरेको र असोज ३ गते साँझ मृत फेला परेपछि हत्याबारे प्रहरीले जानकारी पाएको एसपी सिंहले बताए ।
शवको पोष्टमार्टम सिन्धुली अस्पतालमा असोज ४ गते नै गरी परिवारको जिम्मा लगाइएको एसपी सिंहले बताए ।