INSEC Online

📅 २०८३ जेष्ठ २१

दृष्टिविहीन बालबालिकालाई छुट्टै कक्षा कोठा नहुँदा अध्ययन गर्न समस्या

शिवजन माध्यमिक विद्यालय सितलपाटीमा अध्ययनरत दृष्टिविहीन बालिबालिकाहरूका लागि छुट्टै कक्षा कोठा नहुँदा पठनपाठनमा समस्या भएको दृष्टिविहीन बालबालिकाहरूले गुनासो गरेका छन् । दृष्टिविहीन विद्यार्थी र अन्य विद्यार्थीलाई एउटै कक्षाकोठामा राखी पढाउँदा दृष्टिविहीन बालबालिकालाई पढन समस्या भएको हो ।

‘सरहरूले सपाङ्ग विद्यार्थी सरह हामीलाई पनि एउटै कोठामा बसालेर पढाउँदा समस्या भएको छ ।’-कक्षा ९ मा अध्ययनरत दृष्टिविहीन सन्तोष पुनले गुनासो गरे । उनले आफूलाई अन्य विद्यार्थी सरह सरहरूले हृवाइट बोर्डमा लेखिदिने गरेको र आफूलाई बुझन गाह्रो भएको बताउँदै सुनेका भरमा मात्रै पढ्नुपरेको बताए ।

सरहरूले बोर्डमा लेखिरहँदा आफूहरू हात बाधेर बस्नु पर्ने बाध्यता रहेको कक्षा ८ मा अध्ययनरत दृष्टिविहीन सविना वुढाथोकीले बताइन् । उनले भनिन्-‘सरहरूले बोल्ने भन्दा बढि लेखाउने कार्य गर्नु हुन्छ । हामीलाई खासै ध्यान दिईँदैन ।’

दृष्टिविहीन बालबालिकाहरूले कम्प्यूटरको माध्यमबाट पढाउनका लागि विद्यालय प्राशसनलाई आग्रह गर्दापनि सुनुवाइ नभएको दृष्टिविहीन शिक्षक राजेश अर्यालले बताए । ‘हामीले विद्यालय प्रशासनलाई दृष्टिविहीन विद्यार्थी र अन्य विद्यार्थीलाई एउटै कक्षामा पढाउन सकिँदैन । त्यसको लागि छुट्टै कक्षा कोठा र कम्प्यूटरको व्यवस्था गर्न आग्रह गर्दै आइरहेका छौँ । तर, विद्यालय प्रशासनले अहिलेसम्म जबाफ दिएको छैन ।’-उनले भने ।

यसैबिच सल्यानको एकमात्र दृष्टिविहीन बालबालिकाको छात्राबास जीर्ण हुँदा बालबालिकाहरू जोखिममा रहेको दृष्टिविहीन शिक्षक अर्यालले बताए । भवन पूर्ण रूपमा जीर्ण भइसकेकोले अन्य विकल्प नहुँदासम्म वाध्यताले भवनमा बस्नु परेको उनले बताए ।

उनले भने-‘राज्यले प्रतिव्यक्ति ४ हजार रुपियाँका दरले मासिक छात्रवृत्ति उपलव्ध गराउँछ । त्यो रकमबाट मासिक ५ सय रुपियाँ मात्र विद्यार्थीको खातामा जम्मा हुने गरेको छ । बाँकी बचेको रकमले ब्रेललिपी, कापी र खाना व्यहोर्नु पर्छ ।’

छात्राबासमा हाल ५ जना छात्र र १४ जना छात्रा गरी १९ जना दृष्टिविहीन बालबालिकाहरू अध्ययन गरिरहेका छन् । छात्राबासमा उनीहरूलाई ब्रेललिपीमा अक्षरहरू चिनाइसकेपछि शिवजन माध्यमिक विद्यालयमा अध्ययन गर्ने गरेका छन् ।

अन्य

भिडियो