धनुषा जिल्ला औरही गाउँपालिका–२ की १० वर्षीया मनिताकुमारी यादवको सामूहिक बलात्कार गरी हत्या गरेको कसुरमा औरही गाउँपालिका–२ परवाहाका ३१ वर्षीय विनोद मुखिया र ३३ वर्षीय नथुनी पण्डितलाई जिल्ला अदालत धनुषाले असोज १ गते आजीवन कारावास सजायको फैसला सुनाएको छ ।
न्यायाधीश राजेश कटुवालको इजलासले मुखिया र पण्डितलाई पीडित बालिकाको बालात्कार गरी हत्या गरेको दोषी ठहर गर्दै आजीवन कारावाससहितको सजाय सुनाएको हो ।
०७५ असोज २६ गते दुर्गा मेला हेर्न गएकी रामाशीश यादवकी १० वर्षीया छोरी मनिता कुमारीलाई स्थानीय मुखिया र पण्डितले १० रुपियाँको प्रलोभन देखाएर गाउँभन्दा पर लगी बलात्कार गरी हत्या गरेको आरोप थियो ।
पीडित बालिकाको शव धान खेतको हिलोमा गाडिएको अवस्थामा असोज २७ गते फेला परे लगत्तै प्रहरीले मुखिया र पण्डितलाई सोही दिन गिरफ्तार गरेको थियो ।
शवको पोष्टमार्टम जनकपुर अञ्चल अस्पतालमा असोज २७ गते गरिएको थियो । पीडित पक्षले असोज २७ गते जिल्ला प्रहरी कार्यालयमा उजुरी दिएको थियो ।
गिरफ्तार परेका मुखिया र पण्डितलाई जिल्ला अदालतले ०७५ कात्तिक २६ गते पुर्पक्षका लागि थुनामा पठाएको थियो ।