INSEC Online

📅 २०८३ जेष्ठ २२

डेङ्गुको सङ्क्रमण बढ्दो अवस्थामा, सचेतना र नियन्त्रणका प्रयास सुरू

डेङ्गु रोगको सङ्क्रमण बढेसँगै देशका विभिन्न जिल्लाबाट यससम्बन्धी समाचार प्राप्त हुन थालेका छन् । ठाउँठाउँमा सचेतना अभियान र ठाउँठाउँमा नियन्त्रणका काम पनि सुरू गरिएको छ ।

इन्सेक रसुवा जिल्ला प्रतिनिधि हेमनाथ खतिवडाका अनुसार डेङ्गुको सङ्क्रमण बढ्दो अवस्थामा देखिएपछि सर्वसाधारणमा त्रास फैलिएको स्वास्थ्य कार्यालय रसुवाका प्रमुख किरण श्रेष्ठले बताएका छन् ।

जिल्ला अस्पताल रसुवाले भदौ २६ गतेदिखि डेङगु परीक्षण सुरू गरेको र डेङ्गुको शङ्का लागेर परीक्षणका लागि अस्पताल आएका सात जनामध्ये एक जनामा डेङ्गु सङ्क्रमण देखिएको प्रमुख श्रेष्ठले बताए ।

चितवन जिल्ला घर भई टिमुरे इलाका प्रहरी कार्यालयमा कार्यरत एक जना प्रहरी जवानमा डेङ्गु सङ्क्रमण देखिएकोे उनले बताए ।

श्रेष्ठका अनुसार विदामा चितवन गएका प्रहरी जवान त्याहाँबाट फर्र्केपछि परीक्षणको क्रममा उनको शरीरमा डेङ्गुको सङ्क्रमण देखिएको हो ।

त्यसैगरी कालिका गाउँपालिका–२ कालिकास्थानका एक जनालाई पनि डेङ्गुको लक्षण देखिएपछि ग्राण्डी अस्पताल काठमाडौँमा लगिएकोमा उनलाई अस्पतालले डेङगु सङ्क्रमण भएको पुष्टि गरेको छ ।

रसुवाको तल्लो क्षेत्र डेङ्गु सङ्क्रमणले बढी प्रभावित हुन सक्ने भन्दै यसको नियन्त्रणका लागि सचेतनाका कार्यक्रम स्थानीय तहमार्फत पनि अघि बढाइएको स्वास्थ्य कार्यालय रसुवाका प्रमुख किरण श्रेष्ठले बताए ।

इन्सेक नुवाकोट जिल्ला प्रतिनिधि नवदीप श्रेष्ठका अनुसार डेङ्गु सङ्क्रमणका बिरामी भेटिएपछि यससम्बन्धी सचेतनाका कार्यक्रमहरू सञ्चालन गर्न सुरू गरिएको छ ।

जिल्ला स्वास्थ्य कार्यालयका अनुसार जिल्लामा अहिलेसम्म पाँच जना डेङ्गु सङ्क्रमित भएको पाइएपछि सचेतना अभियानलाई तिव्रता दिइएको हो ।

photo2019-912 Nuwakot (1)

photo2019-912 Nuwakot (2)

इन्सेक मकवानपुर जिल्ला प्रतिनिधि पुष्पराज अधिकारीका अनुसार प्रदेश ३ मा हालसम्म ३ हजार ७ सय ६६ जनामा डेङ्गुको सङ्क्रमण देखा परेको छ ।

सामाजिक विकास मन्त्रालयको तथ्याङ्क अनुसार प्रदेश ३ का जिल्लामा डेङ्गुका बिरामीको सङ्ख्या दैनिक रूपमा बढिरहेको छ ।

गत सातासम्म प्रदेश भरमै २ हजार १० जना डेङ्गुका बिरामी रहेकोमा भदौ २६ गते सम्ममा बिरामीको सङ्ख्या बढेर ३ हजार ७ सय ६६ जना पुगेको सामाजिक विकास मन्त्रालयको तथ्याङ्कले देखाएको छ ।

मन्त्रालयको तथ्याङ्क अनुसार प्रदेश ३ का जिल्लामध्ये सबैभन्दा बढी चितवन जिल्लामा १ हजार ४ सय ६० जनामा डेङ्गु सङ्क्रमण देखिएको छ ।

मकवानपुरमा ७ सय २८ जना, काठमाडाँैमा १ हजार ३ सय ४५ जनामा डेङ्गुको सङ्क्रमण देखा परेको र उल्लेखित जिल्लाको तुलनामा अन्य जिल्लामा सङ्क्रमणको चाप कम रहेको प्रदेश ३ का सामाजिक विकास मन्त्री युवराज दुलालले जनाकारी गराए ।

मन्त्री दुलालले प्रदेशका १ सय १९ ओटै स्थानीय तहमा हरेक हप्ता डेङ्गु नियन्त्रणका लागि अभियान सञ्चालन गर्ने भन्दै डेङ्गु बिरामीका लागि सङ्घीय सरकारको सहयोगमा ३ सय ओटा झुल जिल्ला अस्पताललाई हस्तान्तरण गरिएको बताए ।

L

इन्सेक बागलुङ जिल्ला प्रतिनिधि सिर्जना पन्तका अनुसार धौलागिरी अञ्चल अस्पताल, बागलुङमा सङ्क्रमण बढेसँगै डेङ्गुको सङ्क्रमण भए नभएको भनेर जाँच गराउने बिरामीको सङ्ख्यामा पनि वृद्धि हुन थालेको अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट डाक्टर शैलेन्द्र वि.पोखरेलले जानकारी दिए ।

देशैभर डेङ्गु सङ्क्रमणको हल्ला चलेपछि अस्पतालमा दैनिकजसो १० जनाभन्दा बढी बिरामी जाँचका लागि आउने गरेको डाक्टर पोखरेलको भनाई छ ।

जिल्लामा अहिलेसम्म परीक्षण गरेका बिरामीमध्ये तीनजनामा डेङ्गुको सङ्क्रमण पत्ता लागेको र एक जना जिल्लाबासीको पोखरामा उपचार गराउँदा सङ्क्रमण पत्ता लागेको डाक्टर पोखरेलले बताए ।

बागलुङ घर भएर पोखरामा बस्ने दुई जनामा पनि यसअघि डेङ्गुको सङ्क्रमण भेटिएको जिल्ला स्वास्थ्य कार्यालय, बागलुङले जनाएको छ ।

जिल्लामा डेङ्गुको सङ्क्रमण देखिएपछि बागलुङ नगरपालिकाको कार्यालयले सतर्कता अपनाउन आग्रह गरेको छ ।

जिल्ला स्वास्थ्य कार्यालयले जिल्लाका सबै स्थानीय तहलाई यसप्रति सचेत हुनका लागि पत्रचार समेत गरेको जनाएको छ ।

अहिलेलाई बिरामीको उपचार धौलागिरी अञ्चल अस्पतालमा उपचार गर्ने गरेको गण्डकी प्रदेश स्वास्थ्य कार्यालय, बागलुङका सुपरभाइजर देवप्रकाश घिमिरेले बताए ।

जिल्लाका प्राथमिक स्वास्थ्य केन्द्रबाट पनि चेक जाँच र उपचारको प्रबन्ध मिलाउने तयारी गरिरहेको घिमिरेले जानकारी दिए ।

इन्सेक म्याग्दी जिल्ला प्रतिनिधि अमृत बास्कुनेका अनुसार जिल्लामा हालसम्म तीनजनामा डेङ्गुको सङ्क्रमण देखिएको जिल्ला अस्पताल बेनीले जनाएको छ ।

जिल्ला अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट डाक्टर मनोज घिमिरेले डेङ्गु देखिएका बिरामीमध्ये दुई जनाको म्याग्दीमै उपचार भएको र एक जनालाई पोखरा रिफर गरिएको बताए ।

अहिले जिल्ला अस्पतालमा भाइरल ज्वरोका बिरामीहरू उपचारका लागि आउने क्रम उच्च रहेको र दैनिक १ सय भन्दा धेरै ज्वरोका बिरामी उपचारका लागि आउने गरेको अस्पतालले जनाएको छ ।

इन्सेक लमजुङ जिल्ला प्रतिनिधि दलबहादुर मजाकोटीका अनुसार जिल्लाको विभिन्न ठाउँमा १० जना बिरामीहरूमा डेङ्गुको सङ्क्रमण देखिएको जिल्ला स्वास्थ्य कार्यालय, लमजुङले जनाएको छ ।

कार्यालयका प्रमुख केशवप्रसाद चापागाईंले हाल ति बिरामी पोखरा र चितवनमा रहेका विभिन्न अस्पतालमा उपचार गरिरहेको जानकारी दिएका छन् ।

डेङ्गुको शङ्का लागेर अस्पतालमा जचाउन आएकामध्ये १० जनालाई सङ्क्रमण देखिएपछि ६ जना पोखरास्थित गण्डकी अस्पताल तथा चारजना चितवन मेडिकल कलेजमा उपचार गराइरहेका चापागाईंले बताए ।

रोगबाट बच्नको लागि नगरपालिका र स्वास्थ्य कार्यालयले जनचेतनामुलक कार्यक्रम गरिरहेको चापागाईंले जानकारी दिए ।

इन्सेक सुर्खेत जिल्ला प्रतिनिधि दुर्गा थापाका अनुसार जिल्ला कर्णाली प्रदेशको राजधानी वीरेन्द्रनगमा रहेको प्रदेश अस्पतालमा पाँच र स्थानीय मेडिकलमा एक गरी ६ जनामा डेङ्गु रोगको सङ्क्रमण देखिएको छ ।

प्रदेश अस्पतालका अनुसार बराहताल गाउँपालिका, वीरेन्द्रनगर नगरपालिका र भेरीगङ्गा नगरपालिकाका स्थानीयमा डेङ्गुको सङ्क्रमण देखिएको हो ।

डेङ्गु रोगका सङ्क्रमितहरूको प्रदेश अस्पतालमा उपचार भइरहेको र यसबाट आत्तिनुपर्ने अवस्था नरहेको प्रदेश अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट डाक्टर डम्मर खड्काले बताए ।

डेङ्गु रोगका सङ्क्रमितहरूलाई दक्ष चिकित्सकसँग मात्र चेकजाँच गराउन र उनीहरूको सिफारिसको आधारमा औषधि सेवन गर्नुपर्ने सुझाव दिएको डाक्टर खड्काले जानकारी दिए ।

इन्सेक पाल्पा जिल्ला प्रतिनिधि यज्ञमुर्ति तिमल्सिनाका अनुसार पाल्पामा डेङ्गु रोगको सङ्क्रमणका कारण १३ जना बिरामी भएका छन् । देशभर डेङ्गु रोगका बिरामी बढेसँगै पाल्पामा पनि यस रोगका बिरामी बढेका हुन् ।

साउन महिनामा दुई जनामा मात्र डेङ्गु रोग देखिएको भएपनि भदौ महिनामा यसको सङ्ख्या बढेर १३ पुगेको जिल्ला स्वास्थ्य कार्यालय पाल्पाका सूचना अधिकारी माधव ज्ञवालीले बताए ।

सङ्क्रमित दुई जनाको उपचार लुम्बिनी मेडिकल कलेजमा भइरहेको छ भने अन्य ११ जना उपचारपछि घर फर्केका छन् । बिरामीमध्ये अधिकांश महिला रहेका छन् ।

सङ्क्रमितहरू दुई जना गुल्मी जिल्लाका छन् भने अन्य सबै पाल्पाकै रहेको लुम्बिनी मेडिकल कलेज प्रभासका सूचना अधिकारी कृष्ण पराजुलीले बताए ।

दुई नगरपालिका र आठ गाउँपालिका रहेको पाल्पामा डेङ्गु रोगबारे चेतनामुलक कार्यक्रम सुरू हुन सकेको छैन । पाल्पामा अघिल्लो वर्ष पनि सात जनामा डेङ्गु रोगको सङ्क्रमण देखिएको थियो ।

इन्सेक पर्वत जिल्ला प्रतिनिधि सन्तोष थापाका अनुसार छिमेकी जिल्लाहरूमा डेङ्गुको महामारी फैलिन थालेपछि पर्वत जिल्लामा पनि उच्च सतर्कता अपनाइएको छ ।

भदौ २७ गते साँझ ५ बजेसम्म पर्वत जिल्ला अस्पतालमा ११ जना डेङ्गुका बिरामीले उपचार गराइरहेका छन् ।

कुस्मा, डिमुवा, वारीबेनी बजारलाई उच्च जोखिमयुक्त क्षेत्रको रूपमा राखिएको स्वास्थ्य कार्यालय पर्वतले जनाएको छ ।

यस बाहेक हुवासबजार र बिहादी गाउँपालिकामा पनि डेङ्गुको जोखिम देखिएकोले उच्च सतर्कता अपनाउन थालिएको  जिल्ला स्वास्थ्य कार्यालय पर्वतका तथ्याङ्क अधिकृत प्रविण भण्डारीले जानकारी दिए ।

इन्सेक दाङ जिल्ला प्रतिनिधि जे एन सागरका अनुसार डेङ्गु रोगको सङ्क्रमणबाट दाङमा एक जनाको मृत्यु भएको छ भने ४२ जना सङ्क्रमित भएका छन् ।

शान्तिनगर गाउँपालिका–१ फूर्केसल्लीकी २१ वर्षीया प्रतिमा बुढाको भदौ २७ गते नेपालगञ्ज मेडिकल कलेजमा मृत्यु भएको जिल्ला जनस्वास्थ्य कार्यालय दाङका डेङ्गु रोग नियन्त्रण शाखाका फोकल पर्सन कमल चन्दले बताए । उनका अनुसार डेङ्गुकै कारण बिरामी परेकी थापालाई उपचारका लागि नेपालगञ्जमा लगिएको थियो ।

जिल्लामा २४ पुरुष र १८ महिलासहित ४२ जना सङ्क्रमित भेटिएको जिल्ला जनस्वास्थ्य कार्यालय दाङले जनाएको छ ।

तुलसीपुर उमनपामा २० जना, घोराही उमनपामा १५ जना, बबई गाउँपालिकामा दुई जना र जिल्लाका विभिन्न ठाँउका पाँच जनामा डेङ्गु सङ्क्रमण भएको हो ।

डेङ्गु रोगको छुटटै औषधि नभएपनि ज्वरोको औषधि खाने र आराम गर्नुपर्ने भएकाले उपचारको खासै समस्या नरहेको कार्यालयले जनाएको छ ।

घोराही र तुलसीपुर उपमहानगरपालिकाले डेङ्गु रोगविरूद्ध सचेतनामूलक अभियान चलाइरहेको घोराही उमनपाका प्रमुख नरुलाल चौधरीले बताए ।

इन्सेक अर्घाखाँची जिल्ला प्रतिनिधि नारायण भुषालका अनुसार डेङ्गु रोगबाट चार जना सङ्क्रमित भएको पाइएको छ । त्यसमध्ये एक जनालाई पूर्ण रूपमा निको भएको र तीन जनाको उपचार भइरहेको जिल्ला स्वास्थ्य कार्यालयले जनाएको छ । सङ्क्रमितमध्ये दुई जना पुरुष र दुई जना महिला रहेका छन् ।

डेङ्गु रोग नियन्त्रणका लागि सञ्चार माध्यमबाट सन्देशमूलक सामग्री प्रसारण, ब्रोसर प्रकाशन गरी प्रभावित र अन्य ठाउँहरूमा वितरण, पोष्टर छपाइ र स्थानीय तहसँग सहकार्य गरी सचेतनामुलक कार्यक्रम सञ्चालन भइरहको स्वास्थ्य कार्यालय प्रमुख पुष्पा थापाले बताइन् ।

अन्य

भिडियो