कालिका गाउँपालिका-४ धुसेनीस्थित सेतीदेवी उच्च माविको भवनमा गतसाता पहिरोले क्षति पुर्याएपछि पठनपाठनमा समस्या भएको छ ।
विद्यालय र देवकोटा गाउँ जोखिममा परेको स्थानीय शिक्षक कृष्ण देवकोटाले बताए । भदौ ६ गते रातिदेखि निरन्तरको वर्षाका कारण धुसेनीस्थित देवकोटा गाउँमाथिबाट पहिरो आएपछि देवकोटाले राति नै घर छाडेको बताए । गाउँ जोखिममा देखिएपछि टिका देवकाटा छिमेकीको घरमा बस्दै आएका छन् ।
‘कतिबेला पहिरो आउँछ पत्तो हुँदैन । भदौ लगेपछि रातभर वर्षात् हुनथालेको छ ।’-स्थानीय शिवप्रसाद देवकोटाले भने-‘यहाँ जमीन भासिएको छ । पहिरोले विद्यालय तथा गाउँ सङ्कटमा पर्न लागेको छ ।’
पहिरोले विद्यालयको शौचालय र सेफ्टी ट्याङ्की भत्काएपछि शौच गर्नसमेत समस्या भएको छ । अस्थायी शौचालय समेत बनाउन नसकिएको बताउँदै शिक्षक देवकोटाले भने-‘विद्यालय नजिकै पहिरोले ५०/६० ओटा रुखहरू ढालेको छ । नौ कोठाको भवनमा क्षति भएपछि अस्थायी छाप्रोमा पढाउँदै छौँ ।’
उनका अनुसार विद्यालयमा १ देखि १२ कक्षासम्म १ सय ५१ जना विद्यार्थी अध्ययनरत छन् । दातृ संस्था जाइकाले निर्माण गरिरहेको सेतीदेवी उच्च माविको भवनमा क्षति पुर्याएको र हस्तान्तरण हुने चरणमा रहेको शौचालयमा समेत क्षति पुगेको स्थानीयले बताए ।
पहिरो प्रभावितलाई त्रिपाल तथा प्लाष्टिक उपलब्ध गराएको कालिका गाउँपालिकाका उपाध्यक्ष भवानीप्रसाद न्यौपानेले बताए ।
‘वर्षाको समयमा अरू केही गर्न सकिने अवस्था छैन ।’-उनले भने-‘प्रभावित क्षेत्रमा जाने र त्रिपाल तथा प्लाष्टिक दिने काम गरिरहेका छौँ ।’
यस क्षेत्रमा थप पहिरो जान नदिन पहिरो रोकथामको कार्य भइरहेको उनको भनाई छ । जुनसुकै उपाए अपनाएर भएपनि बस्ती तथा विद्यालय भवन जोगाउनु पर्ने उनले बताए ।



