साउन २४ गते रात घरबाट हराएकी ताराखोला गाउँपालिका–५ माटोबिसाउनेकी २५ वर्षीया दोजिना पुन साउन ३१ गते साँझ सात दिनपछि सोही ठाउँको मदन खोला किनारमा मृत अवस्थामा फेला परेकी छिन् ।
साउन २५ गते बिहान दोजिनाका पति मनबहादुर पुनले पत्नी हराएको भन्दै छिमेकीलाई भनेपछि सोही दिन इलाका प्रहरी कार्यालय गल्कोटमा निवेदन दिएर खोजी कार्य सुरू गरिएको थियो ।
परिवारले हराएको भन्दै निवेदन दिएपनि अनुसन्धानको क्रममा पतिपत्नी बिचमा सधैँ झै–झगडा भइरहने, समय समयमा छिमेकीहरूले मिलाउने समेत गरेको र मृतकको सामाजिक सञ्जाल फेसबुकमा परिवारका सदस्यहरूबाट आफू पीडित भएका जस्ता स्टाटसहरू अपलोड हुँदै आएकाले घटना शङ्कास्पद रहेको जिल्ला प्रहरी कार्यालय बागलुङका एसपी नवराज भट्टले बताए ।
मृतक दोजिनाको शव धौलागिरी अञ्चल अस्पताल ल्याइएको र आइतबार पोस्टमार्टम गरी रिपोर्ट आएपछि अनुसन्धानमा थप सहज हुने प्रहरीको भनाई छ ।