जैमिनी नपा-२ डाडी बस्ने ३५ वर्षीया देवी ढकालको शव साउन ३० गते घर नजिकै फेला परेको जिल्ला प्रहरी कार्यालय, बागलुङले जनाएको छ ।
सोही नगरपालिका-४ मा घर भएपनि हाल डाँडा खेत बस्दै आएकी ढकाल घर नजिकै सडकको नालीमा घोप्टो अवस्थामा मृत फेला परेकोबारे स्थानीयले खबर गरेको जिल्ला प्रहरी कार्यालय, बागलुङका एसपी नवराज भट्टले जानकारी दिए ।
ढकालका पति वैदेशिक रोजगारीका क्रममा छन् । मृतक ढकालका एक छोरा पोखरामा बस्दै आएको र एक छोरी केही दिनदेखि आफन्तकोमा बसिरहेको जानकारी आएको एसपी भट्टले बताए ।
घटना शङ्कास्पद भएकाले अनुसन्धान गरिरहेको र शवको पोष्टमार्टमका लागि धौलागिरी अञ्चल अस्पताल पठाइएको जिल्ला प्रहरी कार्यालय, बागलुङले जनाएको छ ।