INSEC Online

📅 २०८३ जेष्ठ २१

कुटपिट घटनाका आरोपित विरूद्ध प्रहरीमा उजुरी दर्ता

दुहवी नगरपालिका-११ की २८ वर्षीया बुधनी मण्डललाई कुटपिट गरी घाइते बनाएको आरोपमा प्रहरीले ५० वर्षीया सासू पानोदेवी मण्डल र २६ वर्षीया सौता मञ्जु चौधरीलाई साउन २८ गते गिरफ्तार गरेको छ ।

३२ वर्षीय दिलिप मण्डलसँग विवाह गरेकी बुधनीलाई चार वर्षअघि घरपरिवारले निकाला गरेका थिए । घरबाट निकालामा परेपछि बनीबुतो गरेर जीवन चलाउँदै आएकी बुधनी साउन १९ गते पेट पाल्न समस्या भएको र सो समस्या समाधानका लागि पतिलाई आग्रह गर्न जाँदा पतिको निर्देशनमा सासू र सौताबाट निर्घात पिटिएकी थिइन् ।

कुटपिटबाट नाडी, पाखुरा र शरीरका विभिन्न ठाँउमा चोट लागेकी पीडितको हाल विराट मेडिकल कलेज उपचार भइरहेको अधिकारकर्मी सुनिता गच्छदारले बताइन् ।

आरोपितद्वयलाई इलाका प्रहरी कार्यालय दुहवीमा राखी अनुसन्धान थालिएको र पतिबाट पीडितको उपचार खर्च व्यहोर्न लगाइएको डिएसपी ज्ञानेन्द्र फुयाँलले बताए ।

अधिकारकर्मी मेनुका खतिवडाले बुधनीदेवी वर्षौँदेखि पीडित हुँदै आएको र घटना प्रहरीमा पुगेपछि परिवारले मिलापत्र गर्दै लैजाने र फेरि कुटपिट गर्ने गरेको कारण मुद्दाको किनार लगाउन नसकेको बताइन् ।

प्रहरीले मुद्दा दर्ता गरी कारवाही अघि बढाएकाले अब मिलापत्र भन्दा पनि मुद्दा अदालती प्रक्रियामा जाने भएकाले पीडितले न्याय पाउने डिएसपी फुयाँलको भनाई छ ।

अन्य

भिडियो