जातीय विभेदको घटनाका आरोपित महाबु गाउँपालिका-५ काशिकाँधका ५६ वर्षीय डिलबहादुर रावतलाई दैलेख जिल्ला अदालतले दोषी ठहर गर्दै तैन महिना कैद, १ हजार रुपियाँ जरिबाना र पीडितलाई १० हजार रुपियाँ क्षतिपूर्ति तिर्नुपर्ने फैसला सुनाएको छ ।
न्यायाधीश सनतचन्द्र लवटको इजलासबाट साउन २७ गते सो फैसला गरेको अदालतका सूचना अधिकारी बिनोद आचार्यले जानकारी दिए ।
३३ वर्षीया भाइबुहारी शोभा सुनार रावतलाई ५६ वर्षीय जेठाजु डिलबहादुर रावतले जातीय विभेद गरेको भन्दै गत वैशाख ६ गते जिल्ला प्रहरी कार्यालय, दैलेखमा पीडितले उजुरी दिएकी थिइन् ।
सासू मन्धरा रावतको निधनपछि ०७५ फागुन १८ गते भएको बरखीमा छोइछाई भएको भन्दै अपमान गरेको भनी पीडितले उजुरी दिएकी थिइन् ।
पीडितको उजुरीका आधारमा प्रहरीले आरोपित डिलबहादुर रावतलाई ०७६ वैशाख १६ गते गिरफ्तार गरेको थियो ।
डिलबहादुरका भाइ गणेशबहादुर रावतले शोभासँग तत्कालिन नेकपा माओवादीको पूर्णकालिन भूमिगत कार्यकर्ता भएको बेला १५ वर्षअघि ०६१ वैशाख २० गते नौमूलेको भरभरेमा जनवादी विवाह गरेका थिए ।
द्वन्द्वकालमा घरमा आउने जाने गरेपनि शान्ति प्रक्रियापछि जेठाजु डिलबहादुरले नै अवरोध गरेका कारण त्यतिबेलादेखि नै आफू दुल्लू नपा-९ पादुकास्थित माइतीको घरमा बस्दै आएको शोभा बताउँछिन् । घरमा विभेद भएका कारण पीडित दुई छोराछोरी सहित माइतीघरमा बस्दै आएकी छिन् ।