खाँडादेवी गाउँपालिका–३ भिरपानीको वडा कार्यालयमा साउन १८ गते बिहान २ः३० बजेतिर अज्ञात पक्षले खाना पकाउने ग्यासको सिलिण्डर विष्फोट गराई कार्यालयमा क्षति पुर्याएको छ ।
कार्यालयको टपबाट जस्ता निकाली भित्र छिरेर विष्फोट गराएको वडाअध्यक्ष पुष्करकुमार कार्कीले जानकारी दिए ।
कार्कीका अनुसार बिहानीपख ठूलो आवाजका साथ कार्यालयमा विष्फोट भएको स्थानीयले सुनेका थिए । कार्यालयको बिच पर्ने गरी गराइएको विष्फोटबाट कार्यालयमा राखिएका दराज, र्याक र त्यसमा राखिएका कागजपत्रहरू जलेर नष्ट भएका छन् ।
यसैगरी एउटा कम्प्युटरमा पनि क्षति भएको कार्कीले बताए । चार कोठे सो भवनमा वडाअध्यक्षको कार्यकक्षमा रहेको एक कम्प्युटर तथा कागजातहरू भने सुरक्षित रहेका छन् ।
विष्फोटबाट वडा कार्यालय भवनमा सामान्य क्षति भएको छ । घटना कसले र किन गरायो भन्ने खुलेको छैन ।
जिल्ला प्रहरी कार्यालय रामेछापका इन्स्पेक्टर शेख अदालतले अज्ञात पक्षले गराएको विस्फोट बम नभएर ग्यास सिलिन्डर रहेको बताए । उनले घटना बारे थप अनुसन्धान सुरू भएको जानकारी दिए ।