चार वर्षीया बालिकालाई बलात्कार गरेको आरोपमा यशोधरा गाँउपालिका-२ भडेहराका १८ वर्षीय नसिर हुसेनविरूद्ध पीडित पक्षले साउन ११ गते जिल्ला प्रहरी कार्यालयमा उजुरी दिएको छ ।
पीडित बालिकालाई आरोपितले साउन १० गते चकलेट र पैसाको प्रलोभन देखाएर बलात्कार गरेको र बालिका अर्धचेत अवस्थामा फेला परेपछि सोही दिन जिल्ला अस्पताल तौलिहवामा उपचार र स्वास्थ्य परीक्षण गरिएको थियो ।
उपचारपछि बालिकाको स्वास्थ्यमा सुधार भएको चिकित्सकले जनाएका छन् । घटनापछि फरार रहेका आरोपितको खोजी भइरहेको प्रहरीले जनाएको छ ।
आरोपित पक्षले घटना गाउँमा मिलाउन दबाब दिँदै आएको पीडित पक्षले आरोप लगाएका छन् ।
जिल्ला प्रहरी कार्यालयका डीएसपी देबेन्द्र पाण्डेले बलात्कार मुद्दा गाँउमा मिलाउने कुराको कुनै औचित्य नरहने बताए । उनले घटनाको अनुसन्धान सुरु भएको र कानुन अनुसार कारवाही हुने बताए ।