नेपालको संविधानको धारा ३५ को उपधारा १ मा सबै नागरिकलाई राज्यबाट आधारभूत स्वास्थ्य सेवा निःशुल्क प्राप्त गर्ने हक प्रत्याभुत गरेको छ । सोही धाराको उपधारा ३ मा सबैलाई स्वास्थ्य सेवामा समान पहुँच रहने भनिएको छ ।
सबै नागरिकको स्वास्थ्यको हकलाई अझै मजबुत बनाउनका लागि भनेर सुरू गरिएको स्वास्थ्य बीमा कार्यक्रमबाट नागरिकहरूलेसोचे जति सुविधा पाउन नसकेको गुनासो बढ्दो छ ।
स्वास्थ्य बीमा ऐन २०७४ को परिच्छेद २ को दफा ३ को उपदफा १ मा प्रत्येक नेपाली नागरिक स्वास्थ्य बीमा कार्यक्रममा आबद्ध हुनुपर्ने उल्लेख गरिएको छ ।
०७३ पुसदेखि सुरू बीमा कार्यक्रम गाउँस्तरमा पुग्न नसक्ने समस्यासँगै बीमा गरेकाहरूले पनिसजिलै सुविधा लिन नसक्ने गरेको बिमितहरू बताउँछन् ।
सदरमुकाममा रहेको बेनी अस्पतालमा उपचारका लागि पुगेका बेनी नपा–८ का धनप्रसाद श्रेष्ठले आफू र पत्नीको बीमाबाट उपचार गर्दा निश्चित समय कुर्नुपर्ने बाध्यता झेल्नु परेको गुनासो गरे ।
उनी भन्छन्–‘निकै समय पालो पर्खेर बस्न पर्ने भएकाले सुविधा भन्दा पनि सास्ती भएको छ ।’ कार्यालय समय र निश्चित स्वास्थ्य बीमा निर्देशिकाले तोकेको भन्दा अन्य अवस्थामा बीमा दावी गर्न नसकिने हुँदा समस्या रहेको श्रेष्ठ बताउँछन् ।
म्याग्दी जिल्लामा अहिले पश्चिम म्याग्दीको दरवाङस्थित प्राथमिक स्वास्थ्य केन्द्र र जिल्ला अस्पताल, बेनीमा मात्रै स्वास्थ्य बीमा गराएका बिमितले उपचार गर्न पाउँछन् ।
स्वास्थ बीमा कार्यक्रममा आँखाको औषधि उपचारसम्बन्धी पनि सुविधा उल्लेख छ । जस अन्तर्गत् सेवाग्राहीले आँखाको उपचारसँगै वार्षिक १ हजार रुपियाँ बराबरको चश्मा पाउने भन्ने व्यवस्था पनि छ ।
तर, जिल्ला अस्पताल भित्र आँखाको उपचार गर्ने सुविधा नभएका कारण बीमा कार्यक्रममार्फत् सेवाग्राहीले आँखाको उपचार गराउन पाउँदैनन् ।
जिल्ला अस्पतालको हाता भित्रै नेपाल रेडक्रस सोसाइटी म्याग्दी शाखा तथा हिमालयन आँखा अस्पताल पोखराले संयुक्त रूपमा आँखा उपचार केन्द्र सञ्चालन गरेको भएपनि बिरामीहरूले बीमामार्फत् उपचार सुविधा लिन पाउँदैनन् ।
जिल्ला अस्पतालमा आँखाको उपचारका लागि अस्पताल जाँदा बीमामार्फत् उपचार नपाइएको बताउँछन् बेनी नपा–८ का खुमबहादुर बानियाँ ।
उनी जस्तै धेरै सेवाग्राही बीमाबाटै उपचार हुन्छ भन्दै उपचारका लागि पुगेपनि जिल्ला अस्पतालसँग आँखा उपचारको सुविधा नहुँदा त्यसै फर्किने गरेका छन् ।
बीमा गरेपछि वार्षिक १ हजार रुपियाँ बराबरको चश्मा र अन्य उपचार पाउने भनि उल्लेख भएपनि सुविधा नपाइएको बताउँछन् विमित पत्रकार प्रताप बानियाँ ।
आँखा उपचार केन्द्रबाट बीमा दावी गर्नका लागि प्राविधिक रूपमा नसक्ने भएकाले बीमाबापत् आँखाको उपचार गर्न नसकिएको आँखा उपचार केन्द्रका प्रमुख दिनेश बानियाँ बताउँछन् ।
अहिले आँखा उपचार केन्द्रमा एक जना प्राविधिक र कार्यालय सहयोगी मात्र रहेको र बीमा कार्यक्रमको रेकर्ड राख्ने सफ्टवेयरलगायतका प्राविधिक सामग्री नभएकोले बिमितलाई सेवा दिन नसकिएको बानियाँको भनाई छ ।
आँखा उपचार केन्द्र अस्पतालको हाता भित्रै भए पनि रेडक्रस र हिमालयन आँखा अस्पतालले एक अर्कासँग समन्वय गरेर चलाएको कारणले गर्दा अस्पतालको फार्मेसीबाट पाइने औषधि तथा अन्य उपचार बीमा क्लेम गर्न अप्ठेरो भएको बताउँछन् बेनी अस्पतालका अध्यक्ष बेलबहादुर कटुवाल ।
कटुवाल भन्छन्–‘यदि आँखा उपचार केन्द्र बेनी अस्पतालसँगै सम्झौता गरेर समन्वय गर्ने हो भने बीमा भित्र पर्ने १ हजार रुपियाँ बराबरको चश्मा तथा अन्य सबै औषधिसमेत अस्पतालबाट बीमामा दावी गर्न सकिन्छ ।’
बीमालाई सर्भसुलभ बनाउने प्रयास राज्यको रहेको भनिएपनि सदरमुकाम र आसपासका क्षेत्रमै बीमा केन्द्रित भएको जस्तो देखिन्छ ।
बीमा कर्तामध्ये करिब ५० प्रतिशत भन्दा बढी बेनी नगरपालिकाभित्रका बासिन्दा रहेको र बाँकी बीमाकर्तामात्रै अन्य पाँच गाउँपालिकाका बासिन्दा रहेको स्वास्थ्य बीमा बोर्ड, म्याग्दीका प्रमुख उपेन्द्र बराल बताउँछन् ।
पहुँचको अभाव तथा ग्रामीण भेगका नागरिकलाई स्वास्थ्य बीमाको बारेमा जनचेतनाको समेत कमीले गर्दा समेट्न नसकेको बरालको भनाई रहेको छ ।
०६८ को जनगणना अनुसार म्याग्दीमा २७ हजार ७ सय ६२ परिवार रहेको भएपनि हालसम्म १४ प्रतिशत हाराहारी परिवारमा पनि बीमा कार्यक्रम पुग्न सकेको छैन ।
म्याग्दी जिल्लामा आर्थिक वर्ष २०७४/०७५ को अन्त्यसम्ममा ३ हजार ८ सय ७३ पुरुष, ४ हजार ५ सय ४४ महिला र एक जना अन्य गरी ८ हजार ४ सय १८ जना स्वास्थ्य बीमाको सदस्य बनेको स्वास्थ्य बीमा बोर्ड, म्याग्दीले जनाएको छ ।