नेपालीहरूको महान चाड दशैँ तिहारमा पनि सामाजिक सुरक्षा भत्ता नपाएको चन्दननाथ नगरपालिकका ज्येष्ठ नागरिक, एकल महिला, बालबालिका र अपाङ्गता भएका व्यक्तिहरूले गुनासो गरेका छन् ।
चन्दननाथ नपा-१५ बोहोरागाउँका ६५ वर्षीय नुन्या कामीले सामाजिक सुरक्षा भत्ता नपाएकाले दसैँ तिहार जस्ता ठूला चाड खल्लो भएको बताए । उनले भने-‘राज्यले बैङ्कमार्फत रकम वितरण गर्ने भनेको छ । हामी नपढेका मान्छेहरू बैङ्कमा कसरी जाने ?, के गर्ने ? निकै समस्यामा परेका छौँ । हामीलाई त घरदैलोमा आएर हातैमा पैसा दिएको भए राम्रो हुन्थ्यो ।’
चन्दननाथ नपा-१५ का ज्येष्ठ नागरिक गुम्म सार्कीले बैङ्कमार्फत सामाजिक सुरक्षा भत्ता प्रदान गरिने भनिएपछि सदरमुकाम धाउनु पर्दा झन सास्ती थपिएको बताए । उनले भने-‘पहिला जस्तै घरदैलोमा नै भत्ता वितरण गर्नुपर्छ ।’
स्थानीय निकायका कर्मचारीले वितरण गर्दा अनियमितता गरेको भन्दै सरकारको निर्देशन अनुसार नगरपालिकाले जिल्लाका सबै बैङ्कमार्फत सामाजिक सुरक्षा भत्ता दिन थालेको हो ।
ज्येष्ठ नागरिक सङ्घ जुम्लाका अध्यक्ष तिर्थराज भारतीले बैङ्कमा खाता खोलेका अधिकांश ज्येष्ठ नागरिकलाई सामान्य लेखपढ गर्न नआउने, ग्रामीण भेगबाट लौरो टेकेरै भत्ता बुझन जान नसक्ने भएकाले बैङ्कबाट भत्ता दिने व्यवस्था अव्यवहारिक भएको बताए ।
घोडेदेव गाविस सचिव दत्तबहादुर शाहीले बैङ्कमार्फत सामाजिक सुरक्षा भत्ता वितरण गर्ने प्रक्रिया ज्येष्ठ नागरिक र अपाङ्गमैत्री नहुने बताए । उनले अरूको भरमा हिँड्ने व्यक्ति बैङ्कसम्म आउन नसक्ने र नपढेका व्यक्तिहरूका लागि यो प्रणाली झञ्झटिलो हुने बताए ।
चन्दननाथ नगरपालिका कार्यालयका कार्यकारी अधिकृत केशवराज शर्माले सामाजिक सुरक्षा भत्ता वितरण गर्न रकम हिनामिना भएको, सम्बन्धित व्यक्तिले नपाएको भन्ने जनगुनासो आएपछि सहजरूपमा सम्बन्धित व्यक्तिले नै रकम प्राप्त गरून भन्ने उद्देश्यले बैङ्कमार्फत सामाजिक सुरक्षा भत्ता वितरण गर्ने व्यवस्थाको सुरूवात गरिएको बताए ।
उनले भने-‘नगरपालिका भित्रका सबै ज्येष्ठ नागरिक, एकल महिला, बालबालिका र अपाङ्गता भएका व्यक्तिहरूले बैङ्कमा खाता खोली नसकेकाले दसैँ तिहारमा सामाजिक सुरक्षा भत्ता प्रदान गर्न सकिएन । पहिलो चौमासिक निकासा भएको १ करोड ६६ लाख रुपियाँ सबैले खाता खोलेपछि वितरण गरिने छ ।’
आर्थिक वर्ष ०७३/०७४ को पहिलो चौमासिकको सामाजिक सुरक्षा भत्ता चन्दननाथ नगरपालिका भित्रका ज्येष्ठ नागरिक १ हजार ३ सय ५२ जना, एकल/विधवा महिला २ सय ७४ जना, पूर्ण अपाङ्गता भएका ५० जना, आंशिक अपाङ्गता भएका १ सय ५० जना, बालबालिका २ हजार ४ सय ६० जनाले बैङ्कको झञ्झटिलो प्रक्रियाका कारण पाउन नसकेका हुन् ।
सामाजिक सुरक्षा भत्ता कार्यक्रम सञ्चालन कार्यविधि ०७२ अनुसार ज्येष्ठ नागरिक र एकल/विधवा महिलालाई मासिक १ हजार रुपियाँ, पूर्ण अपाङ्गता भएका व्यक्तिलाई मासिक २ हजार रुपियाँ, आंशिक अपाङ्गता भएका व्यक्तिलाई मासिक ६ सय रुपियाँ र ०७३ असार मसान्तमा ७० वर्षपुरा भएका ज्येष्ठ नागरिकलाई उपचार खर्चबापत मासिक १ हजार रुपियाँ प्रदान गरिने व्यवस्था रहेको जिल्ला विकास समितिका सूचना अधिकारी क्षेत्रबहादुर बुढाथापाले बताए । उनले भने-‘नगरपालिका बाहेक अन्य गाविसले दसैँ अगावै सामाजिक सुरक्षा भत्ता वितरण गरी सकेका छन् । ‘