INSEC Online

📅 २०८३ जेष्ठ २१

अग्नि सापकोटाविरुद्ध सर्वोच्चले मगायो सत्य आयोगमा परेको उजुरी

द्वन्द्वकालको समयमा मारिएका काभ्रेका अर्जुन लामाको हत्या आरोप लागेका पूर्वमन्त्री अग्नि सापकोटाविरूद्ध सत्य निरूपण तथा मेलमिलाप आयोगमा परेको उजुरी मगाउन असार २५ गते सर्वोच्च अदालतले आदेश दिएको छ ।

लामा हत्याको घटनामा सर्वोच्च अदालतको संवैधानिक इजलासले उक्त घटनाको उजुरी लामाकी पत्नीले सत्य निरूपण तथा मेलमिलाप आयोगमा दिएको भए उक्त निवेदनको प्रतिलिपि मगाउन आदेश दिएको हो ।

उनको हत्यामा संलग्नताको आरोपमा माओवादी नेता सापकोटाविरूद्ध लामाकी पत्नी पूर्णीमाया लामाले २०६९ मङ्सिर ७ गते जिल्ला अदालत काभ्रेमा मुद्दा दायर गरेकी थिइन् ।

उक्त मुद्दा पुनरावेदन हुँदै सर्वोच्चसम्म आइपुगेको हो । सर्वोच्च अदालतमा यसअघि २०७२ चैत १२ गते सुशीला कार्की र ओमप्रकाश मिश्रको इजलासले उक्त मुद्दा संवैधानिक इजलासले टुंगो लगाउनुपर्ने आदेश दिएको थियो ।

प्रधानन्यायाधीश चोलेन्द्रशम्शेर राणा, न्यायाधीशहरू दीपककुमार कार्की, केदारप्रसाद चालिसे, मीरा खड्का र हरिकृष्ण कार्कीको संवैधानिक इजलासले आयोगमा निवेदन दिएको भए त्यसको प्रतिलिपी मगाउन असार २५ गते सर्वोच्चले आदेश दिएको हो ।

२०६२ वैशाख १६ गते तत्कालिन विद्रोही माओवादीको अपहरणमा परेका लामाको दुई महिनापछि शव भेटिएको थियो ।

इन्सेकको अभिलेखमा अर्जुन लामा

अन्य

भिडियो