सरकारद्वारा प्रतिबन्धित नेत्रविक्रम चन्द (विप्लव) नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीका कार्यकर्ता र प्रहरीबीच भोजपुर सदरमुकाममा असार २५ गते भएको गोली हानाहानमा एक जना प्रहरी जवान र एक जना विप्लव कार्यकर्ताको ज्यान गएको छ ।
सदरमुकामको हटिया लाइनमा गस्तीमा रहेको प्रहरी टोलीमाथि विप्लव कार्यकर्ताले गोली चलाएपछि भएको जबाफी कारवाहीमा प्रहरी जवान सञ्जीव राई र षडानन्द नपा-१३, बोया घर भई विप्लव समूहका ओखलढुङ्गा इञ्चार्ज नीरकुमार राईको गोली लागि ज्यान गएको भोजपुरका प्रमुख जिल्ला अधिकारी नुरहरी खतिवडाले बताए ।
सो घटनामा प्रहरी जवान खेमनाथ भट्टराई घाइते भएका छन् । उनको उपचार जिल्ला अस्पतालमा भइरहेको प्रजिअ खतिवडाले बताए ।
अहिले शवलाई जिल्ला अस्पतालको शव गृहमा राखिएको छ । घटना लगत्तै भोजपुरमा सुरक्षा व्यवस्था कडा पारिएको छ ।
मौसम प्रतिकूल भएपनि काठमाडौँबाट सेनाको हेलिकोप्टर भोजपुर आउने तयारी गरीरहेको प्रजिअ खतिवडाले बताए ।