मौलापुर नपा–६ पथरा बुधरामकी चार वर्षीया लक्ष्मीकुमारी यादवको नाक र मुख थुनेर हत्या गरेको आरोपमा प्रहरीले लक्ष्मीका बाबु रामकिशोर राय यादवलाई असार १८ गते गिरफ्तार गरेको छ ।
जिल्ला प्रहरी कार्यालयले असार २० गते पत्रकार सम्मेलनको आयोजना गरी सो घटना सार्वजनिक गरेको हो ।
जीवन बीमा कम्पनीबाट पाउने रकमको लोभमा असार १७ गते रामकिशोर राय यादवले छोरी लक्ष्मीको हत्या गरेको आरोप छ ।
असार १७ गते हराएकी लक्ष्मीको शव असार १८ गते बिहान गाउँकै एक पोखरीमा भेटिएको थियो । घटनाको अनुसन्धान गर्ने क्रममा राम किशोरको गतिविधि शङ्कास्पद लागेपछि प्रहरीले उनलाई नियन्त्रणमा लिएको थियो ।
यादवले गरुडाको प्रभु लाइफ इन्स्योरेन्स कम्पनीमा जेठ १९ गते मात्र छोरीको नाममा २५ लाख रुपियाँको जीवन बीमा गराएको प्रहरीले जनाएको छ ।
हत्या गर्ने र बीमाको रकम निकाल्ने योजना अनुरुप नै छोरीको बीमा गराएको अनुसन्धानबाट खुलेको जिल्ला प्रहरी कार्यालयका डिएसपी नविन कार्कीले बताए ।
राति आमासँगै सुतिरहेकी छोरीलाई बोकेर लगेको र नाकमुख थुनेर हत्या गरी पोखरीमा फालेको यादवले स्वीकारेको प्रहरीले जनाएको छ ।
बीमा गरेको एक महिनाभित्र बिमित व्यक्तिको मृत्यु भएमा दोब्बर रकम भुक्तानी पाउने कुरा सुनेकाले यसो गरेको यादवले बयान दिएको प्रहरीले जनाएको छ । शवको पोष्टमार्टम जिल्ला अस्पताल गौरमा असार १८ गते गरिएको छ ।
यादवलाई मुलुकी अपराध संहिता, २०७४ को ज्यानसम्बन्धी कसुर अन्तर्गत मुद्दा दर्ता गरी जिल्ला अदालत गौरबाट पाँच दिनको म्याद थप गरिएको प्रहरीले जनाएको छ ।