INSEC Online

📅 २०८३ जेष्ठ २१

घरेलु हिंसा पीडितका लागि इन्सेकको पैरवी

सिमकोट गाउँपालिका–२ ठेहे गाउँकी ७० वर्षीया आशा सुनारलाई २५ वर्षीय छोरा जनक सुनारले कुटपिट गरेको भन्दै इन्सेकले असार १५ गते न्यायका लागि सिमकोट गाउँपालिकाको कार्यालयमा पैरवी थालेको छ ।

पीडित महिलालाई आरोपितले विगत चार वर्षदेखि घरमा रहेको सम्पुर्ण धनसम्पति अर्कैलाई बेचबिखन गरी दैनिक जसो कुटपिट गर्ने गरेको र मार्ने धम्की समेत दिएकोले न्यायका लागि पहल गरिदिन आग्रह गर्दै पीडितले असार १५ गते इन्सेकमा निवेदन दिएकी थिइन् ।

आरोपित जनकले आमालाई मात्रै नभई ३२ वर्षीय दाई भक्त सुनार र २८ वर्षीया भाउजु जसमति सुनारलाई पनि कुटपिट गर्दै आएको पीडित पक्षको आरोप छ ।

पीडित भाउजुले आरोपितले घरमा खाने लाउने केही बाँकी नराखेपछि यसअघि वडा नम्बर २ स्थित वडा कार्यालयमा उजुरी गरेको बताइन् ।

वडा कार्यालयमा पटकपटक मिलापत्र गरे पनि आरोपित जनकले झन् बढी कुटपिट गर्दै आएको जनकका दाइ भक्तले बताए ।

आरोपितले कुटपिट गर्दा आमाको छातिको करङ् र देब्रे हातको बुढिऔँला समेत भाँचिएको भक्तको भनाई छ ।

असार १४ गते बेलुकी आरोपित एक्कासी घरमा आएर आमालाई कुटपिट गर्दै मार्ने धम्की दिएपछि तीनै जना न्यायको माग गर्दै सदरमुकाम आएका छन् ।

पीडितहरूले न्याय नपाउन्जेलसम्म इन्सेकको पहलमा पीडित आमा र भाउजुका लागि महिला तथा बालबालिका संरक्षण केन्द्रले खान बस्नको व्यवस्था गरेको छ ।

पीडित पक्षको उजुरीका आधारमा आरोपित जनकलाई कार्यालयमा झिकाएर छलफल गरी पीडित पक्षलाई न्याय दिलाउने सिमकोट गाउँपालिकास्थित न्यायिक समितिका संयोजक रावतले प्रतिबद्धता व्यक्त गरे ।

अन्य

भिडियो