INSEC Online

📅 २०८३ जेष्ठ २१

मानव गरिमा रक्षाका लागि सबैको सहकार्य आवश्यक

अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) प्रदेश,१ कार्यालय विराटनगरको आयोजनामा प्रदेश १ को मानव अधिकार र मानव अधिकारको अवस्था विषयक छलफल कार्यक्रम धनकुटाको भेडेटारमा असार १४ गते सम्पन्न भएको छ ।

छलफल कार्यक्रममा मानव अधिकारको परिभाषा, यसका विषेशता, अपराध र उल्लङ्घनमा फरक, मानव अधिकार कानुन तथा मानवीय कानुन विषयमा सहभागीहरूबीच छलफल भएको छ ।

सो क्रममा इन्सेक प्रदेश १ का संयोजक सोमराज थापाले मानव अधिकारसम्बन्धी राष्ट्रिय तथा अन्तराष्ट्रिय कानुन र संयन्त्रहरू, राष्ट्रिय मानव अधिकार आयोगका काम, कर्तव्य, भूमिका, आर्थिक, सामाजिक तथा सांस्कृतिक अधिकारका सूचक तथा मानव अधिकार रक्षकको अग्र भागमा रहने पत्रकारहरूको भूमिका र सामाजिक सङ्घसंस्थाको कार्यलाई तुलना गर्नुको सट्टा साझा धारणा लिएर अघि बढ्नु पर्ने बताए ।

राष्ट्रिय मानव अधिकार आयोग प्रदेश १, कार्यालय प्रमुख प्रमुख मोहन देवले राष्ट्रिय मानव अधिकार आयोगले सबै किसिमका मानव अधिकार उल्लङ्घनका विषयमा गम्भीर भएर काम गरिरहेको बताए ।

नेपालमा मानव गरिमा रक्षाको लागि इन्सेकले गरेको योगदान राष्ट्रिय मानव अधिकार आयोगसँग तुलना गरेर हेर्न नमिल्ने बताए । उनले मानव गरिमाका निम्ति सामाजिक सङ्घ संस्था, सञ्चार क्षेत्र र राज्य एकैसाथ हिँड्नु पर्नेमा जोड दिए ।

छलफल कार्यक्रममा नेपाल पत्रकार महासङ्घ प्रदेश १, अध्यक्ष विक्रम लुइँटेलले द्वन्द्वकालमा मानव अधिकारकर्मी र पत्रकार बीच सहकार्य भएपनि अहिले टुटेको बताउँदै अब पनि सहकार्य आवश्यक रहेको बताए ।

उनले देशभर स्थानीय तहमा धेरै बजेट भएकाले जान्ने भनिएका पत्रकारहरू डकुमेन्ट्री र पत्रकारिता तालिमका लागि स्थानीय सरकारसँग सहकार्य गरेकाले स्थानीय सरकारसँग जोडिएका मानव अधिकार उल्लङ्घनका विषय ओझेलमा परेको बताए ।

नेपाल पत्रकार महासङ्घ मोरङका अध्यक्ष बन्धु पोख्रेलले महिला माथि हुने हिंसा नरोकिएको बताउँदै समाज कता जाँदै छ भनेर सबै पक्ष गम्भीर बन्नुपर्ने बेला आएको बताए ।

उनले पत्रकारहरूले पीडित र आरोपित दुवै पक्ष बीच बुझेर समाचार सम्प्रेषण गर्न आवश्यक रहेको बताए । पोखरेलले अबको पत्रकारिता मानव अधिकारमैत्री हुनु पर्नेमा जोड दिए ।

photo20190630dhankuta (1)

photo20190630dhankuta (2)

अन्य

भिडियो