बागलुङ नपा–१३ रोकायथरकी ४५ वर्षीया लक्ष्मी रोकालाई हँसिया प्रहार गरी गम्भीर घाइते बनाएको आरोपमा प्रहरीले ४५ वर्षीय देवर बबी रोकाले असार ५ गते बिहान गिरफ्तार गरेको छ ।
असार ५ गते नै गिरफ्तार गरिएका आरोपित रोकालाई अनुसन्धानका लागि जिल्ला प्रहरी कार्यालय, बागलुङस्थित हिरासतमा राखिएको प्रहरीले जनाएको छ ।
सामान्य घरायसी विवादको क्रममा हँसियाले टाउकोमा प्रहार गर्दा गम्भीर घाइते भएकी लक्ष्मीको उपचार मणिपाल शिक्षण अस्पताल पोखरामा भइरहेको जिल्ला प्रहरी कार्यालय, बागलुङका डिएसपी झविन्द्रप्रसाद भट्टराईले जानकारी दिए ।
हँसिया प्रहारबाट घाइते भएकी लक्ष्मीको टाउकोमा १४ ओटा टाँका लगाइएको र थप उपचार भइरहेको पीडितका पति जीवन रोकाले बताए ।
पीडितलाई आरोपितले धारिलो हतियार प्रहार गर्ने क्रममा छुट्याउन जाँदा घाइते भएका जीवनका ७४ वर्षीय बुबा सोमबहादुर रोकाको हातमा पनि चोट लागेको प्रहरी जनाएको छ ।
जिल्ला प्रहरी कार्यालय, बागलुङका अनुसार घाइते सोमबहादुरको भने धौलागिरी अञ्चल अस्पताल बागलुङमा उपचार भइरहेको छ ।