१३ वर्षीया बालिकालाई बलात्कार गरेको आरोपमा प्रहरीले मकवानपुर जिल्ला हेटौँडा उपमहानगरपालिका-१, चाइनागेट टोल घर भई हाल ललितपुर जिल्ला महालक्ष्मी नगरपालिका-३ बोझेपोखरीस्थित राजेन्द्र महर्जनको घरको सटर भाडामा लिइ ठेला गाडामा कस्मेटिक सामान बेच्दै आएका ३५ वर्षीय बिभुलाल जोशीलाई असार १ गते गिरफ्तार गरेको छ ।
महानगरीय प्रहरी वृत्त सातदोबाटोका प्रमुख डिएसपी गौतम मिश्रका अनुसार महालक्ष्मी नगरपालिका-२ स्थित सामुदायिक बाल उद्धार केन्द्र नेपालको संरक्षणमा ०६३ सालदेखि बस्दै आएकी बालिका ०७६ जेठ २५ गते दिउँसो २ बजेदेखि गेट बाहिर निस्किएर हराएकी थिइन ।
उनलाई जेठ ३२ गते राति पौने ८ बजे बोझेपोखरीस्थित राजेन्द्र महर्जनको घरको सटर बन्द भएको कोठामा बन्धक बनाइएको अवस्थामा प्रहरीले फेला पारेको थियो ।
पीडित बालिकाले जेठ ३२ गते महानगरीय प्रहरी वृत्त सातदोबाटोमा उजुरी दिएपछि आरोपितलाई गिरफ्तार गरिएको हो ।
महालक्ष्मी नगरपालिका-३ बोझेपोखरीस्थित राजेन्द्र महर्जनको घरबाट गिरफ्तारीमा परेका आरोपितका विषयमा अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।
पीडित बालिकाको स्वास्थ्य परीक्षण असार १ गते नै पाटन अस्पताल ललितपुरमा गरिएको अस्पतालले जनाएको छ ।