काठमाडौँको सुकेधारामा जेठ १२ गते नेत्रविक्रम चन्द (विप्लव) नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीका कार्यकर्ताले गराएको विष्फोटमा ज्यान गुमाउनेको सङ्ख्या चार पुगेको छ ।
विष्फोटनमा परी गम्भीर घाइते भई ट्रमा सेन्टरमा उपचार गराइरहेका रामेछापका ३७ वर्षीय रामकुमार श्रेष्ठको जेठ ३२ गते बिहान उपचारका क्रममा मृत्यु भएको हो । श्रेष्ठ पनि सोही पार्टीका कार्यकर्ता भएको प्रहरीले दावी गरेको छ ।
विप्लव नेतृत्वको नेकपाले जेठ १२ गते नै राजधानीकै घट्टेकुलोमा गराएको विष्फोटमा एक जनाको ज्यान गएको थियो ।
सुकेधारा विष्फोटमा घटनास्थलमा दुई जना र उपचारका क्रममा भोलिपल्ट थप एक जनाको मृत्यु भएको थियो ।
दुवै विष्फोटमा मारिएका चार जना सोही पार्टीका कार्यकर्ता भएको प्रहरीले दावी गर्दै आएको छ । प्रहरीले आफ्ना कार्यकर्तालाई गोली हानी मारेको दावी गर्दै सो पार्टीले आह्वान गरेको जेठ १३ गतेको नेपाल बन्दको अघिल्लोदिन नै ती विष्फोट भएका थिए ।