ढिलो विद्यालय आएको निँहुमा विद्यार्थीहरूमाथि कुटपिट गरेको आरोपमा प्रहरीले रुन्टीगढी गाउँपालिका–८ मगरगोरीस्थित भानु आधारभूत विद्यालयकी शिक्षिका २६ वर्षीया लक्ष्मी पुनलाई जेठ २० गते गिरफ्तार गरेको प्रहरीले जनाएको छ ।
आरोपित शिक्षिकाले जेठ १२ गते ढिलो गरी विद्यालय आएको भन्दै कक्षा १ देखि ८ सम्मका १४ जना विद्यार्थीलाई कुटपिट गरी घाइते गराएको भन्दै पीडित पक्षले जेठ १९ गते इलाका प्रहरी कार्यालय होलेरीमा उजुरी दिएपछि गिरफ्तार गरिएको डिएसपी दिपक खड्काले बताए ।
आरोपितलाई अभद्र व्यवहार अन्तर्गतको कानुनी कारवाहीका लागि जिल्ला अदालतबाट म्याद थप गरी अनुसन्धान भइरहेको डिएसपी खड्काले बताए ।
प्रधानाध्यापक झगबहादुर भण्डारी गाउँपालिकाको एसआईटी तालिममा होलेरी गएका बेला निमित्त प्रधानाध्यापकको जिम्मेवारी पाएकी लक्ष्मीले विद्यार्थीमाथि भाँचिएको कुर्सीको खुट्टाले कुटपिट गरेको विद्यार्थीहरूको भनाई छ ।
घटनापछि जेठ १४ गते अभिभावकहरुले विद्यालयमा ताला लगाई आफूहरूले रकम सङ्कलन गरेर निजी स्रोतबाट राखेको शिक्षिकाले आफ्नै छोराछोरीहरूलाई कुटपिट गरेको भन्दै शिक्षिकालाई बर्खास्त गर्न माग गरेका थिए ।
विद्यालय व्यवस्थापन समितिका अध्यक्ष समेत रहेका वडाध्यक्ष भीमबहादुर पुनको पहलमा घाइते विद्यार्थीहरूको उपचार शिक्षिकाले गरिदिने र शिक्षिकालाई निष्काशन गर्ने सहमतिमा मिलापत्र भएको थियो ।
तर, जेठ १५ गते शिक्षिकाले उपचार खर्च पनि दिनुपर्ने, कारवाही पनि भोग्नु पर्ने भन्दै विरोध गरेपछि घटना इलाका प्रहरी कार्यालय होलेरीमा पुगेको थियो ।
प्रहरीले जेठ १६ गते गाउँपालिकाका अध्यक्ष बालाराम बुढा, गाउँपालिकाका शिक्षा शाखाका प्रतिनिधि, अभिभावक र पीडित विद्यार्थीलगायतलाई बोलाएर छलफल गरेको थियो ।
स्थानीयका अनुसार एक वर्षअघि पनि शिक्षिका पुनको कुटपिटबाट एक जना विद्यार्थीको कानमा समस्या भएको थियो ।