१८ वर्षीया युवतीको महाराजगञ्ज नपा–७ सतभरा गाउँ नजिकै जेठ १४ शव फेला परेको छ । युवतीको बलात्कारपछि हत्या गरिएको हुन सक्ने प्रहरीले आशङ्का गरेको छ ।
स्थानीयले शव देखेपछि इलाका प्रहरी कार्यालय कृष्णनगरमा खबर गरेका थिए । मृतकको शरीरभरी चोट रहेको, कपडा फुकालिएको र युवतीकै सुरुवालले घाँटीमा कसेको अवस्थामा शव भेटिएको प्रहरीले जनाएको छ ।
मधेसी मूलकी जस्ती देखिने युवतीको सनाखत नभएको इन्स्पेक्टर सूर्य बोगटीले बताए । “घटनाको प्रारम्भिक नतिजा अनुसार युवतीलाई बलात्कार गरी हत्या गरिएको हुन सक्छ ।” बोगटीले भने ।
बोगटीका अनुसार घटनास्थलमा युवतीले प्रतिकार गरेको जस्तो देखिएको हुँदा सामूहिक बलात्कारपछि हत्या भएको हुन सक्ने अनुमान छ ।
घटनास्थल नेपाल–भारत सीमानादेखि १ सय मिटर मात्र नजिक भएको हुँदा मृतक भारतीय पनि हुनसक्ने अनुमानमा भारतीय प्रहरीसँग समेत सहकार्य गरी शवको पहिचानको पहल भइहेको प्रहरीले जनाएको छ । शव पोष्टमार्टमका लागि जिल्ला अस्पतालमा राखिएको छ ।