विद्यालय जाने उमेरका बालबालिका विद्यालयमा पढ्न जान छोडेर बिहान र बेलुकाको छाक टार्न सदरमुकाम सिमकोटमा तीन घण्टाको पैदल बाटो हिँडेर दाउरा बेच्नु परेको गुनासो गरेका छन् ।
डाँडाफया गाविस-४ जबुका १० वर्षीय धञ्जोक सिंह भन्छन-“घरको आर्थिक अवस्था कमजोर छ, आमा बुबा बुढा भएकाले विद्यालय जान छोडेर तिहारको लागि खर्च जुटाउन बिहानै आफ्नो तौल भन्दा बढीको दाउराको भारी लिएर सिमकोटमा बेच्न आएको छु ।”
कैलाश मावि डाँडाफयामा कक्षा ५ मा अध्यनरत बालक धञ्जोकले घर खर्च गरी बचेको रुपिँयाले कापीकलम किन्ने योजनासमेत सुनाए ।

यस्तै गुनासो र योजना सोही गाविस-२ का ११ वर्षीय बमबहादुर शाहीले पनि सुनाए । कैलाश माविमा कक्षा ६ मा अध्ययनरत शाहीले विद्यालय जान छोडेर साना भाइबहिनी र आफूलाई बाक्लो लुगा र कापीकलम किन्नका लागि दाउरा बेच्ने गरेको बताए । उनले भने-“बिहान ५ बजे उठेर तीन घण्टाको पैदल बाटो हिँडेर दाउरा बेच्छु । त्यसैबाट आएको पैसाले सामल किन्ने गरेको छु ।’
डाँडाफया गाविसमा कक्षा ३ देखि माथिका अधिकांश विद्यार्थी विद्यालय आउनुको सट्टा दाउरा बेचेर तिहार खर्च जुटाउन लागेको कैलाश माविका प्रधानाध्यापक रफिद रहमान खाँले बताए ।

घरमा खान खर्चसमेत नभएपछि आफ्नो तौल भन्दा बढीको दाउराको भारी बोकेर बिहान सदरमुकाम सिमकोट पुग्नु पर्ने बालबालिकाको बाध्यता रहेको स्थानीयबासी धनबहादुर शाहीले जानकारी दिए ।
हुम्ला जिल्लामा ६ महिना तातो हुने भएपनि कात्तिक महिनादेखि चैत महिनासम्म हिमपात हुने भएकाले समयमै हिउँद भरिको खर्च जुटाउनु पर्ने शाहीले बताए ।
सदरमुकाम सिमकोटमा एक भारी दाउराको ३ सयदेखि ५ सय रुपियाँसम्म पाउने भएकाले घर खर्चका लागि विद्यालय जान छोडेर दाउरा बेच्ने गरेको स्थानीय बमबहादुर शाहीले बताए ।