INSEC Online

📅 २०८३ जेष्ठ २१

पुनर्निर्माणको काम तत्काल थाल्न मानव अधिकार सञ्जालको ध्यानाकर्षण

भूकम्पपछि नीजि आवास निर्माणको काम हुन नसकेको गुनासो गर्दै तत्काल काम थाल्न मानव अधिकार सञ्जाल गोरखाले सम्बन्धित निकायको ध्यानाकर्षण गराएको छ ।

सञ्जालका अध्यक्ष यदु अधिकारीले तत्काल पुनर्निर्माण प्रक्रिया थाल्न राष्ट्रिय पुनर्निर्माण प्राधिकरण, जिल्ला प्रहरी कार्यलय र जिल्ला प्रशासन कार्यलयलगायतका निकायमा कात्तिक ६ गते ध्यानाकर्षण गराइएको बताए ।

जिल्लाका ५२ हजार चार सय १० परिवारलाई नीजि आवास निर्माणका लागि पहिलो किस्ताको ५० हजार निकासा भइसकेको अवस्थामा सो रकमको सदुपयोग हुने सुनिश्चितता गर्नुपर्ने सञ्जालको माग छ ।

रकम निकासा भएपनि पुनर्निर्माणको काम प्रारभ्भ नभएकाले घर खर्च मै रकम सकिने हो कि भन्ने आशङ्का उत्पन्न भएको सञ्जालका अध्यक्ष यदु अधिकारीले बताए । ‘रकम सदुपयोग गर्न रकम लाने सम्बन्धित व्याक्ति, निकाय र नागरिकहरू सचेत हुनुपर्छ ।’-अधिकारीले भने ।

लाभग्राही सूचीमा नाम समावेश नभएको भन्दै गुनासो फारम भर्ने १५ हजार ५ सय परिवारको पनि अहिलेसम्म सम्बोधन हुन नसकेकोमा सञ्जालले ध्यानाकर्षण भएको जनाएको हो । तत्काल गुनासो फारम भरेकाहरूको छानबिन गरी रकम उपलब्ध गराउन पनि अधिकारीले माग गरे ।

५८ हजार ३ सय २४ लाभाग्राही सूची प्रकाशित भएको थियो । बाँकी भूकम्प पीडितको पनि अुनदान सम्झौता गरी रकम निकासा गर्ने तयारी भइरहेको जिल्ला विकास समितिका योजना अनुगमन तथा प्रशासकीय अधिकृत सतिशकुमार भट्टराईले बताए ।

‘गुनासो फारम भरेकाहरुको रुजु गर्ने काम भइरहेको छ ।’-भट्टराईले भने । हालसम्म करिव ४ हजार गुनासो फारम भरेकाहरूको रुजु भइसकेको उनको भनाइ छ ।

पहिलो किस्ता वापतको रकम पाएका भूकम्प पीडितले अहिलेसम्म नीजि अवास निर्माण थालेका छैनन् । तिहार लगत्तै घर निर्माण तीव्र गतिमा सुरु हुने भट्टराईको भनाइ छ । कतिपय भूकम्प पीडितले नीजि आवास निर्माणको लागि पाएको अनुदान रकमले चाडबाड मनाएको गुनासो पनि आउन थालेको छ । अहिलेसम्म पनि गोरखामा अनुदान रकमबाट कुनै पनि नीजि आवास निर्माण नभएको बताइएको छ ।

अन्य

भिडियो