हातमा लौरो र पिठ्यूमा पुराना लत्ताकपडाको कुम्लो(भारी) बोकेर जुम्लाको सदरमुकाम खलङ्गा बजारमा आईपुगिन् एक दृष्टिविहिन २० वर्षीया महिला ।
माइती र घर दुवैतिरका आफन्तले सहारा नदिएपछि उनी पेट पाल्नका लागि गाउँगाउँ डुल्दै सदरमुकाम खलङ्गा बजारमा आइपुगेको बताउँछिन् ।
तातोपानी गाउँपालिका–१ राँका गाउँकी २० वर्षीया सरिता डाँगीले सोही गाउँपालिका–७ सर्मीगाउँका २७ वर्षीय दृष्टिविहिन मानबहादुर कुवँरसँग एक बर्ष अघि विवाह गरेकी थिइन् ।
पति मानबहादुरले विवाह भएको वर्ष दिन नबित्दै वैशाख १६ गते घर निकाला गरेको उनले बताइन् । ‘पतिले घर निकाला गरेपछि माइतीघर राँकामा बस्दै आएको थिएँ ।’–उनले भनिन्–‘पतिले त साहारा दिएनन् । माइतीबाट पनि साहारा पाइनँ ।’
दृष्टिविहिन सरिता पतिले घरबाट निकालेपछि सहारा माग्न माइतीघर गएको भएपनि बास नपाएको गुनासो गर्छिन् ।
‘दुवै दृष्टिविहीन भएपनि एक अर्काको साहारामा जिन्दगी बिताउने बाचा गरेर दृष्टिविहीन मानबहादुरसँग विवाह गरियो । तर विवाह भएको वर्ष दिन नपुग्दै मेरो सडकको बास भयो ।’–उनले दुखेसो पोखिन् ।
सहाराविहीन भएपछि गासबासका लागि सडक बजारमा भौतारिने गरेको उनले बताइन् । ‘मेरो लागि कोही आफ्नो भएन ।’–उनले भनिन्–‘माइतीघरमा आमाको मन पनि पग्लिएन ।’
अपाङ्गता भएका व्यक्तिलाई सरकारले दिने गरेको भत्ता आमा विष्णु धरालाले बुझेपनि आपूmलाई नदिएको सरिताको आरोप छ ।
दृष्टिविहीन भएकाले भत्ता बुझ्न एक्लै जान नसक्ने हुँदा भत्ताको रकम आफ्नो हातमा नपर्ने गरेको उनले गुनासो गरिन् ।
विष्णु धरालाका घरमा चार छोरी र एक छोरा छन् । बाबु भारतमा काम गर्न गएका र आमाले बस्न नदिएपछि बाध्य भएर आफू माइती घरबाट निस्कनुपरेको उनले दुखेसो पोखिन् ।
उनी अहिले सदरमुकामस्थित जिल्ला प्रहरी कार्यालय, जुम्ला अगाडी बसेर रूँदै सहारा खोजिरहेकी छिन् ।
दृष्टिविहीन भित्रै बहुविवाह र जातीय भेदभाव
सरिता डाँगीका पति मानबहादुर कुँवरले सरितासँग बिहे गर्नु अगाडि तिला गाउँपालिका–३ कुडारीकी गौजी सुनारसँग बिहे गरेका थिए ।
‘पहिलो पत्नी गौजी सुनारलाई दलित भनी बेवास्ता गरेर दोस्रो विवाहका रूपमा मलाई विवाह गरेका हुन् ।’–उनले भनिन् ।
बिहे गरेको एक वर्ष नबित्दै पति मानबहादुर कुँवरले जेठी पत्नी सुनारलाई घरमा ल्याएपछि उनले वैशाख १६ गते घरनिकाला गरेको सरिताको भनाई छ ।
तातोपानी गाउँपालिका–२ राँकाका वडाध्यक्ष प्रेम कठायतले दृष्टिविहिन सरिता डाँगीको विषयमा जानकारी रहेको बताए ।
यस विषयमा उनका आमाबाबु दुवै पक्षलाई छलफलमा राखेर घरमा बस्ने वातावरण सिर्जना गर्ने कठायतले प्रतिबद्धता ब्यक्त गरे ।