बराहताल गाउँपालिका–७ बरैचेका ६० वर्षीय तेजबहादुर खत्रीलाई वैशाख २४ गते बिहान अभक्ष खुवाएको आरोपमा प्रहरीले सोही ठाउँकी ४६ वर्षीया भवीसरा दङ्गालीलाई वैशाख २५ गते गिरफ्तार गरेको छ ।
उपभोक्ता समितिमार्फत् बराहताल गाउँपालिका–७ कल्याणकाँधदेखि नयाँवन जोड्ने सडक निमार्णको क्रममा माटो र ढुङ्गाले आफ्नो जमिन पुरिएपछि दङ्गालीले आवेशमा आएर खत्रीलाई अभक्ष खुवाएको आरोप छ ।
उपभोक्ता समितिका सदस्य रहेका खत्रीलाई दङ्गाली आवेशमा आएर अमानवीय व्यवहार गरेको अनुसन्धानका क्रममा खुल्न आएको जिल्ला प्रहरी कार्यालय, सुर्खेतका डिएसपी प्रदीपबहादुर क्षेत्रीले बताए ।
सडक खन्दा दङ्गालीको घर नजिकैबाट सडक निर्माण गर्ने भनिए पनि उपभोक्ता समितिले उनको पाखोबारी माथिबाट डोजर लगाई सडक बनाउँदा ढुङ्गामाटोले उब्जनी हुने पाखोबारी पुरिएको डिएसपी क्षेत्रीले जानकारी दिए ।
घटनाका आरोपित दङ्गालीलाई हाल जिल्ला प्रहरी कार्यालय स्थित हिरासतमै राखेर अनुसन्धान गरिरहेको प्रहरीले जनाएको छ ।